पूर्व प्रेमीलाई प्रियंकाको कानूनी पत्र


priyanka-chopra
बलिउड अभिनेत्री तथा देशी गर्ल प्रियंका चोपडाले आफ्नो पूर्व प्रेमी असिम मर्चेन्टलाई कानूनी पत्र पठाएकी छन्। असिम हाल प्रियंकाका पूर्व मेनेजर प्रकाश जाजूमा आधारित रहेर फिल्म बनाइरहेका छन्। असिमले फिल्म जाजूको बायोपिक रहने बताएका छन्।

फिल्ममा जाजूको निजी एवं पेशागत जीवनका भित्री कुरालाई छर्लङ बाहिर ल्याइने असिमले बताए पनि प्रियंकाले व्यक्तिको निजी जीवनको उल्लंघन हुने भन्दौ जाजू र मर्चेन्टलाई पत्र पठाएकी हुन्। समाचार अनुसार असिमलाई प्रियंकाले वकिल आनन्द देसाईमार्फत पत्र पठाएकी छन्। ‘असिम मर्चेन्ट जाजूको जीवनमा आधारित फिल्म बनाउने बहानामा जाजूको गोपनियताको उल्लंघन गरिरहेका छन्, यो एक किसिमको मानहानी हो। आफ्नो निजी जिन्दगीको विषयमा बनाइने फिल्मका कारण मलाई चिन्ता लागेको छ।’ पत्रमा भनिएको छ।

मर्चेन्टले हालै आफ्नो एक प्रोडक्सन हाउस पनि सार्वजनिक गरेका छन्। सन् २००४ मा प्रियंका र जाजूका बीच विवाद भएको थियो। प्रियंकाका पिताले जाजूमाथि प्रियंकालाई धम्क्याएको आरोप लगाएका थिए। प्रियंकाका पिताले जाजूविरुद्ध प्रहरीमा निवेदन दिएपछि जाजू ६७ दिन जेलमा बसेका थिए।

SUBSCRIBE 👉