त्रिकोणात्मक प्रेम कथामा ‘रानीमहल’


राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘रानीमहल’को औपचारिक निर्माण घोषणा भएको छ। फिल्मको निर्माण घोषणा सँगै शुभ साइत पनि गरिएको छ। फिल्ममा प्रेमसँगै अतिरिक्त मित्रता, पुत्र मोह आदि विषयलाई रोचक शैलीमा प्रस्तुत गरिने निर्देशक हिमाल न्यौपानेले बताए। रानीमहल जस्तो नाम छ त्यसरी नै आफुले कथावस्तुलाई पर्दामा उतारेर दर्शकको भावना अनुसारको फिल्म बनाउने सोचले निर्देशनमा होमिएको भन्दै न्यौपानेले त्यसको लागी सबैको साथ सहयोग र मायाको आशा व्यक्त गरे।

स्कृप्ट लेखक दीपक पौडेलले नेपाली समाजमा प्रेमको प्रतिकको रुपमा चिनिँदै आएको ‘रानीमहल’को मुटुलाई फिल्मले बोल्ने भन्दै प्रेम के हो र स्थापित प्रेमको परिभाषा के हो बुझ्नको लागी हेर्नै पर्ने फिल्मको सुचीमा रानीमहललाइ राखे। मनोरञ्जन मात्र नभएर नेपाली समाज, कला संस्कृति र नेपाली माटोलाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन फिल्मको कथावस्तुले महत्वुर्ण भुमिका खेल्ने उनको भनाइ छ।

निर्माण टिमले नामले फिल्म दरबारसँग सम्बन्धित जस्तो लागे पनि यथार्थमा फिल्म दरबार वा यसको सेरोफेरोको कथाबाट टाढा रहेको बताएको छ। ‘रानीमहल’लाई विशुद्ध त्रिकोणात्मक प्रेम कथामा आधारित फिल्म भनिएको छ। डेढ करोड लगानीमा बन्न लागेको फिल्म यहि माघको तेस्रो हप्तादेखि फ्लोरमा जाने बताईएको छ। ४५ दिन सुटिङ सेड्युल रहेको फिल्मको बुटबल, भैरहवा, चितवन, स्याङग्जा,पोखरा, पाल्पा र काठमाडौंमा सुटिङ गरिने निर्माण पक्षले बताएको छ।

फिल्ममा वर्षा शिवाकोटी, आशिष अधिकारी, नीर शाह, रश्मी भट्ट, बिएस राना, प्रशान्त ताम्राकार, साहिल श्रेष्ठ, मानस्वी खरेल प्रमुख रोलमा हुनेछन्। मुख्य अभिनेता आशिषको लागी यो फिल्म डेब्यू रहनेछ भने मानस्वी र साहिलले पनि पहिलोपटक पर्दामा स्कृन सेयर गर्दैछन्। निर्देशक न्यौपानेले पुर्ण आत्म विश्वासका साथ नयाँ कलाकारहरुसँग काम गर्न लागेको भन्दै भोलीका स्टारको रुपमा आशिषलाइ अघि सारेका छन्।

स्वस्तिक फिल्मस् को ब्यानरमा बन्ने फिल्ममा निर्माताको रुपमा बिमल भुसाल छन् भने छायाँकन निरज कंडेलले गर्नेछन्। अर्जुन पोखरेल र हर्कुलश बस्नेतको संगीत रहने फिल्ममा द्वन्द्व हिमाल केसीको रहनेछ। रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी रहनेछ।

उमा बेबी, विष्णु सापकोटा,नगेन्द्र रिजाल, युनिता खत्री, बासु खनाल, शिलु पोखरेल, अनामिका लामिछाने, भिस्म राज जोशी, सौगात धिताल, बिनोद कुमार सापकोटा, सुरज चौलागाईं, पुष्पा निरौला, भोला शाह,गणेश पौडेलको पनि यो फिल्ममा अभिनय हुनेछ। फिल्ममा मुख्य सहायक निर्देशनको काम दिलिप भण्डारी र विनोद खतिवडाले गर्नेछन्।

SUBSCRIBE 👉