दुई हलिउड हिरो काठमाडौंमा


Jake-Gyllenhaal-Josh-Brolinकाठमाडौं, विश्वकै सबैभन्दा ठूलो सिने उद्योग हलिउडका दुई चर्चित हिरोहरु काठमाडौं आएका छन। सगरमाथाबारे निर्माण हुन लागेको चलचित्रको सुटिङका लागि अभिनेताहरु ज्याक गिलेनहाल र जोस ब्रोलिन सोमबार साँझ काठमाडौं उत्रिएको सरकारी अधिकारीको भनाई उदृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। सगरमाथामाथिको बेस्टसेलर बुक ‘इन टु थिन एयर’माथि चलचित्र निर्माण हुन लागेको हो।

ज्याक र जोस काठमाडौंको पाँच तारे होटलमा बसेको जनाइएको छ तर होटलको नाम भने गोप्य राखिएको छ। चलचित्रले सन् १९९६ मे १० मा सगरमाथा आरोहणका क्रममा आँधि आउँदा ज्यान गुमाएका आठ जनाको संघर्षको कथा भन्नेछ। आइसल्याण्डका बाल्टासार कोरमाकुरले निर्देशन गर्न लागेको यो चलचित्रको छायांकनका लागि सेन्सर बोर्डले गत शुक्रबार अनुमति दिएको थियो। चलचित्रले दुई साताका लागि हिमालय क्षेत्रमा छायांकनका लागि अनुमति पाएको छ। तर हाल हिमाली क्षेत्रमा अत्याधिक हिमपात भइरहेकोले सुटिङमा समस्या पर्ने देखिएको छ। जसका कारण काठमाडौंको ठमेल वरपर पनि छायाँकन गरिने बताइएको छ। नेपालमा सुटिङको चाँजोपाजो पिक माउन्टेन ट्रेकिङ एजेन्सीले मिलाएको हो। चलचित्रको छायाँकन नेपालपछि आइसल्याण्ड र इटलीमा हुनेछ।

 

चलचित्रमा अभिनेता गिलेनहालले अमेरिकी आरोहण दलका प्रमुख स्कट फिसरको भूमिका निर्वाह गर्ने जनाइएको छ। कोरमाकुरले यसअघि ‘टु गन्स’, ‘इनहेल’ र ‘दि डिप’ जस्ता फिल्म निर्देशन गरिसकेका छन्।

 

SUBSCRIBE 👉