निर्माता फेरिएपछि सकियो एउटा साथीको सुटिङ


rista-basnet-gaurav-pahadi-euta-sathi
ग्ल्यामर नेपाल, काठमाडौं । निर्माता शोभित बस्नेतले फिल्मका लागि आवश्यक बजेट पुर्याउन नसकेपछि केही समय रोकिएको फिल्म ‘एउटा साथी’को सुटिङ शनिबारबाट सकिएको छ। पत्रकार लक्ष्मण सुवेदीले पहिलोपटक निर्देशन गर्न लागेको फिल्मका केही क्लाइमेक्स दृश्य चोभारमा खिचेर फिल्मको छायांकन सकाइएको हो।

निर्माता शोभितले फिल्मबाट हात झिकेपछि उनको ठाउँमा अर्का निर्माता रामचन्द्र खनाललाई ल्याइएको थियो। पूर्ण मनोरञ्जनात्मक प्रेम कथामा बनेको फिल्म करिब ३५ दिनको समयपश्चात सुटिङ सकिएको निर्देशक सुवेदीले जानकारी दिए। ‘फिल्मको एक गीतको सुटिङ गर्न बाँकी छ, वर्षातको समय सकिएपछि त्यसको काम पुरा गर्नेछौं,’निर्देशक लक्ष्मणले भने,‘फिल्म पूर्ण रुपमा राम्रो बनेको छ भन्नेमा म आशावादी छु।’

सलोन फिल्मस्को व्यानरमा निर्मित फिल्ममा सलोन बस्नेत, रिस्ता बस्नेत, जोन तामाङ, शिशिर पौडेल आदिको अभिनय रहेको छ। काठमाडौं, धुलिखेल, नगरकोट, नारायणघाट, हेटौडा र कुलेखानीमा छायांकन गरिएको फिल्ममा सुशील पंगेनीको लेखन, टंक बुढाथोकीको संगीत, राजेन्द्र खड्गीको द्वन्द्व र सुमन तण्डुकारको छायांकन रहेको छ। निर्देशक सुवेदीका अनुसार फिल्म आगामी असोज १५ गते रिलिज हुँदैछ।

SUBSCRIBE 👉