डाक्टर र नायिकाको रोमान्टिक म्युजिक भिडियो


चिकित्सा पेशामा आवद्ध गायक हुन् डा.विक्रान्त मेहता। चिकित्सा पेशामा रहेर पनि सांगीतिक क्षेत्रसंग यी गायकको नजिकको सम्बन्ध छ। पेशाले अर्थोपेडिक सर्जन डाक्टर विक्रान्त मेहता फुसर्दको समयमा सांगीतिक माहौलमा निकै रमाउँछन्। डाक्टरी पेशासंगै गायनमा पनि रुची राख्ने उनी बेला–बेलामा गीतहरु रेकर्डिङ गराइ रहन्छन्। यसैबीच उनको ‘तिम्रो आँखा मेरो आँखा’ शीर्षकको गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ।

म्युजिक भिडियोमा गायक मेहताले नायिका प्रियंका कार्कीसँग अनस्क्रिन रोमान्स गरेका छन्। संगीतकार वसन्त सापकोटाद्वारा संगीतबद्ध यो कर्णप्रीय गीतका शब्दहरु गायक विक्रान्त तथा नारायण खनालले संयुक्त रुपमा रचना गरेका हुन्। अर्जुन अधिकारीको निर्देशन रहेको भिडियोमा उत्सव दाहालले छायांकन गरेका हुन्। भिडियोमा निशान घिमिरेको सम्पादन छ।

सुगम संगीतसंगै चलचित्रको पाश्र्व गायनमा पनि व्यस्त यी गायक आफुलाई नेपालकै पहिलो पाश्र्व गायक डाक्टरका रुपमा चिनाउँछन्। ‘मैले छोटो समयमा नै विभिन्न चलचित्रका लागि २० वटा भन्दा बढी गीत गाईसकेको छु,’उनले भने। विक्रान्तले ‘चिनारी’, ‘किन रुन्छ यो मन’, ‘अस्मिता’, ‘टिनेज’ आदि चलचित्रका गीतमा स्वर दिइसकेका छन्।

विक्रान्तले अञ्जु पन्त, रजिना रिमाल र जुना प्रसाई जस्ता चर्चित गायिकासँग पनि यूगल गीत गाइसकेका छन्। उनको स्वरमा रहेको आधुनिक गीतका भिडियोलाई पनि दर्शकले राम्रो रुचाएका छन्।

SUBSCRIBE 👉