गाउँ गाउँमा दाईजोविरुद्धको ‘राज्जा रानी’


मधेशमा व्याप्त दाइजो प्रथाको कथालाई लिएर बनेको फिल्म ‘राज्जा रानी’ सिनेमा हलको पहुँचबाट टाढा रहेका गाउँहरुमा पनि देखाइने भएको छ। गत पुस–२१ गते देशभरका हलमा प्रदर्शनमा आएको यो फिल्मको मैथिली भर्सन घुम्ती सिनेमामार्फत गाउँ–गाउँमा प्रर्दशन गरिन लागिएको हो।

राजधानीमा पत्रकार सम्मेनमार्फत मैथिली भर्सनको निर्माण र प्रर्दशन अधिकार लिएको भोर कम्पनीले घुम्ती सिनेमा संचालन गर्नेबारे जानकारी दिएको हो। प्रदेश नम्बर १ र २ अन्तर्गत मोरङदेखि पर्सासम्मका १० जिल्लाका गाउँहरुमा घुम्ती सिनेमा संचालन गरिन लागेको भोर कम्पनीका अध्यक्ष एवम् ‘राज्जा रानी’ मैथिली भर्सनका निर्माता राजकुमार महतोले जानकारी दिए।

‘यसरी फिचर फिल्मलाई घुम्ती सिनेमामार्फत गाउँ–गाउँमा देखाउन लागिएको सम्भवतः नेपालमा पहिलोपल्ट जस्तो लाग्छ,’ निर्माता महतोले प्रेसमिटमा भने, ‘भोलि (शनिबार) सप्तरीको तिरहुतस्थित लोहजुरा गाउँबाट हामी यो अभियानको शुभारम्भ गर्दैछौं। प्रत्येक जिल्लाका ६ देखि ८ स्थानमा ३ देखि ५ वटासम्म शो गर्नेछौं । प्रत्येक दर्शकबाट ५० रुपैयाँ शुल्क उठाउने उद्देश्य छ।’ सप्तरीमा अभियानको शुभारम्भ प्रदेश नम्बर २ का सामाजिक विकास मन्त्री नवककिशोर साहको प्रमुख आतिथ्यमा हुनेसमेत कार्यक्रममा जानकारी दिइयो।

‘मधेशको ठूलो जनसंख्या नेपाली फिल्मको पहुँचबाट टाढा छ,’ प्रेसमिटमा निर्माता महतोले भने , ‘सुरुमा नेपाली भाषामा मात्रै बनेको ‘राज्जारानी’ले मधेशको दाइजो समस्यालाई उठाएको थाहा पाएपछि यसलाई हामीले मैथिली भाषामा डब गर्ने प्रर्दशन गर्ने निर्णय लियौँं। अब घुम्ती सिनेमा अभियानले हाम्रो दाइजोप्रथा विरुद्धको अभियान र फिल्मको विस्तार दुवै कुरामा सघाउ पु¥याउने पक्का छ।’

‘राज्जारानी’मा केकी अधिकारी र नाजिर हुसेन प्रमुख भुमिकामा छन् ‘राज्जा’को भुमिका निर्वाह गरेका नाजिरले कार्यक्रममा यसरी आफ्नो फिल्म गाउँ–गाउँमा देखाउन लागेको खबरले खुशी व्यक्त गरे । ‘मैले पनि पहिलोपल्ट नेपाली फिल्म हलमा नहेरेर बाहिर पर्दामा नै हेरेको थिएँ,’ उनले भने, ‘फिल्म हल नभएका कारण सिनेमाको पहुँचबाट टाढा रहेका थुप्रै दर्शकलाई यो घुम्ती सिनेमा अभियानले उत्साहित बनाउँला भन्ने मलाई लागेको छ।’

‘राज्जारानी’का निर्देशक एवम् स्क्रिप्ट राइटर यम थापाले घुम्ती सिनेमा अभियानमार्फत अझै पनि दाइजोको समस्या नहटेका गाउँहरुमा फिल्मले जनचेतना फैलाउन मद्दत पुग्नेमा आशावादी सुनिए।

घुम्ती सिनेमा अन्र्तगत फिल्म प्रर्दशनका लागि १० फिट र ८ फिटको प्रोजेक्टरको पर्दा र ४००० लुमेन्स फुल एचडी प्रोजेक्टर र दुई वटा हाई भलुमको साउन्ड सिस्टमको प्रयोग गरी उच्च गुणस्तरमा देखाइने निर्माता महतोले जानकारी दिए।

यस सिनेमाको मैथिली भर्सनको निमार्ण पक्ष भोर कम्पनीले ‘राज्जा रानी’ मैथिली सिनेमाको पुरै मुनाफा सामाजिक काममा खर्चिने यसअघि नै घोषणा गरिसकेको छ। घुम्ती सिनेमाबाट उठेको पैसा पनि सामाजिक काममै खर्चिन कार्यक्रममा जानकारी दिइयो। भोर बालविवाह र दाइजोप्रथा विरुद्ध काम गर्दै आएको संस्था हो।

SUBSCRIBE 👉