साथीहरु सँग विन्दास आकाश, हेर्नुहोस् फिल्म ‘ब्ल्याक’को गीत


जेठ ११ लाई प्रदर्शनको मिति तय गरेको फिल्म ‘ब्ल्याक’ निर्माण युनिटले पहिलो सांगितिक कोशेली दर्शकमाझ ल्याएको छ। राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्ममा समावेश पहिलो गीत रिलिज गरिएको हो। ‘चङ्गा जस्तै’ बोलको गीतमा लिड अभिनेता आकाश श्रेष्ठ फिचर छन्।

सार्वजनिक गीतमा प्रतिक पौडेलको स्वर छ भने शब्द संगीत संयोजनको काम पनि प्रतिकले नै गरेका छन्। युवा गायक संगीतकार प्रतिकको आवाज बोल्ने उक्त गीत मुख्यतः युवा पुस्ता लक्षित छ। लभस्टोरी प्याटनको फिल्मको गीतमा कहिँकतै पार्टी मूडमा त कतै ‘जर्नी मूड’मा विन्दास अबतारमा आकाश अनि उनको टिम देखिएको छ। रामजी लामिछानेले गीतको कथा सुहाउँदो कोरियोग्राफी गरेका छन्।

अभिनेत्री आँचल शर्मालाई पहिलो गीतमा फिचर गरिएको छैन्। आयोजित कार्यक्रममा पनि राजधानी बाहिर भएको कारण आँचल उपस्थित भइनन्। अभिनेता आकाशले फिल्मको कथाले मन छोएको कारण नै आफु आवद्ध भएको भन्दै रिलिजपछि मेहनतको फल प्राप्त हुने विश्वास पोखे।

करिब चार बर्षको अन्तरपछि निर्देशनमा फर्किएका निर्देशक प्रदिप श्रेष्ठले पछिल्लो पुस्ताका दर्शकको मनोभावना बुझ्ने गरी सोहि प्रकारको कथावस्तुमा फिल्म बनाएको बताए। निर्मात्री आश्मा पाण्डेले लगानीको प्रतिफल राम्रो पाउने आशा व्यक्त गरिन्। फिल्मको कथा मौनता श्रेष्ठले लेखेका हुन्।

रामशरण उप्रेतीले खिचेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन्। आँचल र आकाशसँगै सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल श्रेत्री, धिरेन शाक्य, प्रिया रिजाल फिल्ममा लिड अभिनयमा छन्। फिल्मलाई राजधानीमा गोविन्द शाही तथा मोफसलमा उज्जल पौडल र मनोज राठीले वितरणको जिम्मा लिएका छन्।

SUBSCRIBE 👉