दिपक बज्राचार्यको ‘मन मगन’


दुई दशकअघि पपगायन र संगीत मार्फत उदाएका गायक दिपक बज्राचार्यले अनवरत आफ्ना गीतसंगीतले हरेक वर्ग र उमेरका दर्शक तथा श्रोताहरुलाई झुमाइरहेका छन्। यो दुई दशकमा समयले धेरै कोल्टे फेरी सकेको छ। यो अवधिमा प्रविधिले पनि समाजका हरेक वर्गमा आफ्नो जरो गाडिसकेको छ। प्राविधिक रुपमा अत्याधुनिक बन्दै गएको संसारको परिवर्तनसंगै पपगायनमा पनि आधुनिकताले राम्रै प्रभाव पारेका छ।

गायक दिपक बज्राचार्य भने समयको बहावमा नबगेर पछिल्लो पटक ओझेलमा पर्न थालेको हाम्रो आफ्नै मौलिक पहिचान र मौलिक संगीततर्फ मोडिएका छन्। आफ्ना गीतहरुमा उनले परम्परागत बाजाहरुको उपयोग गरेर मौलिकपना पस्किन थालेको धेरै भैसकेको छ। गतबर्षको ‘सानी’ र ‘अल्लारे’ त्यसकै पछिल्लो श्रृंखला हो भने मनमगन त्यसकै सबैभन्दा ताजा उदाहरण हो। यसका सर्जक गायक दिपक बज्राचार्यको शब्दमा मनमगन मात्र एउटा गीत होइन, यो एउटा संस्कृति हो।

अहिले गीतलाई सुनेर मात्र होइन, हेरेर पनि मनोरन्जन लिने बेला हो। वास्तवमा गीतसंगीतले नाचगानलाई पनि परिभाषित गर्छ। गीतसंगीतको धुनमा आनन्द लिन त सकिन्छ नै, तर गीतसंगीत बजाएर नाच्नु पनि हाम्रो संस्कृतिको एउटा भाग हो। देशभरी हुने विभिन्न जात्रा तथा पर्वहरुमा बजाइने बाजा र नाच परम्परागत हुन्, जसले हाम्रो सांस्कृतिक पहिचान बोकेको छ। दिपकले त्यसैलाई मनन गरेर एउटा कमर्सियल धुन बनाउने जमर्को गरे, जसमा नेपालको परम्परागत बाजाको ताल र धुन समेटियोस्। गीतको सिर्जनामा उनले नेपाली बाजाको प्रयोगलाई प्राथमिकता दिए, जसमा दिपकको आफ्नो पहिचान हुनैपथ्र्यो, झुमाउने र नचाउने।

अन्ततः रिकी शाक्यसंग मिलेर दिपकले एउटा धुन तयार पारे, जसमा उल्लासपूर्ण शब्द भर्ने काम रिकीले नै गरे। धिमे बाजाको ताललाई पृष्ठभूमीमा राखेर अरु परम्परागत बाजाहरु जस्तै मादल, सारंगी आदिलाई समेटेर संगीत संयोजन गर्यो, दिपककै संगीत समूह रिदम ब्याण्डले। यसरी गीतका रुपमा तयार भयो, मनमगन। मनमगनको म्युजिक भिडियोको अवधारणा गीत संगसंगै तयार भैसकेको थियो। चेरिसा बज्राचार्यले बनाएको अवधारणालाई मुर्त रुप दिनु थियो।

निर्देशक सुव्रतराज आचार्यको टिमले त्यसलाई साकार गर्ने अभिभारा लियो। झण्डै १५० जना कलाकार तथा नृत्य समूहले परम्परागत तथा आधुनिक शैलीको नृत्यको फ्युजन म्युजिक भिडियोमा प्रस्तुत गरेका छन्। ज्येष्ठ नागरिकहरुको आजुगणदेखि अत्याधुनिक हिपहपका साथै सुदुरपश्चिमको तराईमा नाचिने छलिया नाच, पहाडको झ्याउरे, ताम्सलिङ लिम्बुवानको झाँक्री नाच, उपत्यकाको लाखे, भक्तपुरको घिन्ताङ किसी, इन्द्रजात्रामा देखाइने पुलुकिसी र धुनिया घुमाउने अनि उपत्यकाको परम्परागत नाच धिमेनाच लगायतलाई मनमगनको म्युजिक भिडियोमा समेटिएको छ।

सांस्कृतिक आदानप्रदान अहिले अवस्थामा सबैभन्दा आवश्यक रहेको छ। त्यही कुराहरु मनमगनको गीत,संगीत तथा म्युजिक भिडियोमा हेर्न र सुन्न पाइनेछ। ‘मन मगन’लाई विक्रम सम्बत २०७५ को शुभकामनासहित बैशाख १ गते रिलिज गरिएको हो।

SUBSCRIBE 👉