मंसीरमा सलोन–साराको ‘सुश्री सम्पति’


काठमाडौं । आगामी भदौ २२ लाई रिलिज मिति तोकिएको फिल्म ‘सुश्री सम्पति’ ले रिलिज मितिलाई मंसीरमा सारेको छ । फिल्म अब मङ्सिर २८ मा रिलिज हुने भएको छ । भाद्र २२ मा रिलिज गर्ने सोच अनुसार पोस्ट प्रोडक्सनको कामलाई अगाडी बढाएता पनि केहि प्राविधिक कारणले गर्दा फिल्मले रिलिज डेटलाई अगाडी सारेको छ । केहि समय अगाडी मात्र ’हुकुम’ बोलको गीत सार्वजनिक गरेको निर्माण टिमले रिलिज डेट केहि दिनमा घोषणा गर्ने बताएको थियो ।

रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भएको फिल्ममा सलोन बस्नेत , सारा सिर्पाली र बिनोद न्यौपाने मुख्य भूमिकामा छन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् ।

फिल्ममा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहेकोछ भने यसमा प्रियंका कार्की पनि अतिथि भूमिकामा देखिनेछिन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहेको फिल्मको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ । फिल्मलाई उपत्यकामा बिके फिल्मसका गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ । फिल्मलाई भरत रेग्मीले सम्पादन गरिरहेका छन् ।

SUBSCRIBE 👉