चलचित्र ‘जय भोले’ को पोस्टर सार्वजनिक गरिएको छ। चलचित्रको पोस्टर संगै प्रदर्शन मिति पनि सार्बजनिक गरिएको छ चलचित्र असोज ३० अर्थात फुलपातीको दिनबाट सार्बजनिक प्रदर्शनीमा आउनेछ। शनिबार ‘छक्का पञ्जा ३’ले ट्रेलर रिलिजसँगै प्रदर्शन मिती सार्वजनिक गरेसँगै ‘जय भोले’ले पनि आफ्नो प्रदर्शन मिती र अफिसियल पोस्टर सार्वजनिक गरेको हो।
अशोक शर्माले १२ वर्ष पछि निर्माण तथा निर्देशन गरेको चलचित्रको सार्वजनिक पोस्टरमा चलचित्रका सम्पूर्ण मुख्य कलाकारलाई स्थान दिइएको छ। चलचित्रको कथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् ।चलचित्रमा उनी प्रमुख भूमिकामा रहेका छन्। स्वस्तिमा खड्का, सौगात मल्ल, सलोन बस्नेत, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धारा भुषाललगायतका कलाकारहरुको पनि अभिनय रहेको छ।
किरण शर्मा, कृति शर्मा र अंकित शर्माको निर्माण रहेको चलचित्रको ‘उम्लियो भने पोखिन्छ’ गीत हिट भइसकेको छ। झापा र ईलाममा खिचिएको ‘जय भोले’ मा पुरुषोत्तम प्रधानको छायांकन, राजनराज सिवाकोटी र कल्याण सिंहको संगीत, राज ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको द्वन्द निर्देशन छ।