राहदानीलाई ‘यू’, मेघालाई ‘पिजी’ सर्टिफिकेट


nepali-movie-megha-namrata-shresthaग्ल्यामर नेपाल, काठमाडौं। वैदेशिक रोजगारको समस्यालाई उठान गरिएको चलचित्र ‘राहदानी’लाई सेन्सर बोर्डले ‘यूनिभर्सल’ प्रमाणपत्र दिएको छ भने सोसल ड्रामा ‘मेघा’ले पिजी (प्यारेन्टल गाइड) प्रमाणपत्र पाएको छ।

‘यू’ सर्टिफिकेटसँगै डब्बु क्षेत्री निर्देशित ‘राहदानी’ विश्वका जुनसुकै देशका जुनसुकै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन्। सेन्सर बोर्डले चलचित्रमा समावेश केही गालीगलोजका संवादमा भने कैंची चलाएको छ। चैत्र २७ गते रिलिज डेट तोकिएको यस चलचित्रमा दयाहाङ राई, अशोक रिजाल, नविन लम्साल, रुपा खनाल, विनिता घिमिरे, सिर्जना सुब्बा, मोनिका दाहाललगाएतका कलाकारको अभिनय रहेको छ। लक्ष्मीप्रसाद ढकाल चलचित्रका निर्माता हुन। यो चलचित्रको छायाँकन नेपालका विभिन्न स्थानका साथै मलेसियामा पनि गरिएको छ।

सम्झना रौनियार निर्देशित ‘मेघा’ भने १६ वर्षमूनिका दर्शकले अभिभावकको साथमा मात्र हेर्न पाउने भएका छन्। चुरोट र रक्सी सेवनका दृश्यका कारण चलचित्रले ‘पिजी’ सर्टिफिकेट पाएको हो। आउँदो प्रणय दिवसमा रिलिज हुने यस चलचित्रमा सिद्धार्थ कोइराला, रेमनदास श्रेष्ठ र नम्रता श्रेष्ठको त्रिकोणात्मक प्रेम सम्बन्ध देखाइएको छ। विकास रौनियार चलचित्रका कार्यकारी निर्माता हुन्।

 

SUBSCRIBE 👉