अनमोल केसी VS सलिनमान बानियाँ: कसले मार्ला बाजी?


अभिनेत्री झरना थापाले आगामी २९ चैतबाट चलचित्र ‘ए मेरो हजुर–३’ नयाँ वर्षको उपलक्ष्यमा रिलिज गर्ने भन्दै दसैंअघि फस्ट लुक पोस्टर सार्वजनिक गरेकी थिइन्। उनको चलचित्रमा युवा अभिनेता अनमोल केसी र झरनाकै छोरी सुहाना लिड रोलमा छन्। केशव भट्टराई र सुशील पोखरेल निर्मित चलचित्र ‘यात्रा– म्युजिकल ब्लग’ पनि यही मितिमा रिलिज गर्ने घोषणासहित फस्ट लुक पोस्टर रिलिज गरिएको छ। यो फिल्मको नायक सलिनमान बानियाँ हुन्। अनमोल र सलिनमान अभिनित फिल्म एकै मितिमा रिलिज हुने भएपछि अभिनयमा यी दुई अभिनेता जुध्ने भएका छन्।

सलिनमान झरनाकै चलचित्र ‘ए मेरो हजुर–२’ बाट नायकका रूपमा नेपाली चलचित्र क्षेत्रमा देखिएका हुन्। आफूले चलचित्रका लागि ‘गड मदर’ मानेको झरना थापाकै फिल्म ‘ए मेरो हजुर–३’ सँग सलिनमानले जुध्नुपर्ने भएको छ।

ए मेरो हजुर २ [फुल मुभी] हेर्न यहाँ क्लिक गर्नुहोस्

अनमोल केसीको चलचित्रसँग जुधाउँदै २९ चैतमा नै ‘यात्रा’ रिलिज गर्नुको कारणबारे यसका निर्माता केशव भट्टराईले भने, ‘फिल्म राम्रो बनाएका छौं र फिल्मको लगानीलाई मध्यनजर गर्दै वितरकसँगको सल्लाहमा २९ चैत नै रोजेका हौं।’ चलचित्रले आँखालाई शीतलता दिनुका साथै यसको कथावस्तुले दर्शकको मन पनि छुने उनले दाबी गरे।

यता, झरना थापाले पनि आफुहरू कुनै पनि हालतमा २९ चैतबाट पछि नहट्ने बताएकी छन्। ‘हामीले २९ चैतमा ‘ए मेरो हजुर–३’ रिलिज गर्ने घोषणासहित छायांकन सुरु गरेका हौं, अब यतिबेला आएर अरूले जुधाउन ल्याउँछन् भने हामी जुध्न तयार छौं,’ झरनाले भनिन्, ‘चलचित्रको गीतबाहेकको सबै छायांकन सकेर हामीले सम्पादन पनि सुरु गरिसकेका छौं, अब गीतको छायांकन चाँडै गरेर भिडियोसमेत रिलिज गर्नेछौं।’

यी दुई चलचित्र जुध्दा दुवैलाई असर पर्ने चलचित्रकर्मीको भनाइ छ। अनमोल अहिलेका स्टार हुन् भने सलिनमान पनि नवोदित स्टार हुन्। चलचित्र जुध्दा अनमोलको बजार केही खोसिँदा सलिनमानको बजार अझ धेरै खोसिने अनुमान लगाउन थालिएको छ।

SUBSCRIBE 👉