हलिउडका अभिनेता तथा निर्देशक मोर्गन फ्रिम्यान यतिबेला काठमाडौंमा छन्। पछिल्लो साता काठमाडौंमा ओर्लिएका ८१ वर्षे फ्रिम्यान आफ्नो रियालिटी शो ‘स्टोरी अफ गड’को सूटिङका लागि आएको बुझिएको छ। उनले यहाँका थुप्रै धार्मिक तथा सांस्कृतिक स्थल र खासगरी मन्दिरहरु घुम्ने छन्। यही शिलशिलामा फ्रिम्यान नेपाली पोशाकमा स्थलमै झुल्किएका छन्।
अमेरिकी राजदूतावासले उनी नेपाली पोशाकमा सजिएको तस्बिर पहिलो पटक सार्वजनिक गरेको हो। संस्कृतिको महत्वबारे उल्लेख गर्दै दूतावासले मोर्गनको तस्बिर सार्वजनिक गरेको छ।
तर मन्दिरछेउमा उभिएको उनको तस्बिर ठ्याक्कै कुन ठाउँ भनेर चिनिएको छैन। शताब्दिकै महान फिल्म मानिएको ‘ससांक रिडम्पसन’का अभिनेता तथा निर्देशक मोर्गन फ्रिम्यान ओस्कार विजेता हुन्। केही महिनाअघि अमेरिकामा सुरु भएको लैंगिक हिंसाविरुद्ध ‘ह्यासट्याग मी टू’ अभियानले भने उनलाई पनि आरोपित गरेको थियो। फ्रिम्यानले कामको शिलशिलामा थुपै युवतीलाई असहज लाग्ने व्यवहार र यौन हिंसा गरेको भन्दै आरोप लागेको थियो। फ्रिम्यानले भने ती आरोप स्वीकार गर्दै माफी मागिसकेका छन्।