‘जाइरा’ पोस्टर र टिजरमा देखियो नम्रताको फाईटर लुक्स


अभिनेत्री नम्रता श्रेष्ठ शुक्रबारबाट ३३ बर्षमा प्रवेश गरेकी छन्। उनले शुक्रबार राजधानीमा एक कार्यक्रममा बीच आउँदो भदौ ६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘जाइरा’ को टिमसँग जन्मदिन सेलिब्रेट गरिन्। यो चलचित्रमा उनले मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निभाएकी छन्। यसमा उनको होम प्रोडक्सन कम्पनीले पनि निर्माण सहकार्य गरेको छ।

नम्रताको जन्मदिनमा ‘जाइरा’का दुई पोस्टर पनि सार्वजनिक गरिएको छ। पोस्टरमा मुख्यतः उनलाई नै प्रमूख स्थान दिईएको छ। चलचित्रको मुल कथा नै उनको वरिपरि घुमेकाले निर्माण टिमले फिल्मको प्रचार सामाग्रीमा उनलाई नै विशेष स्थान दिँदै आएको छ। सार्वजनिक पोस्टरमा नम्रतालाई मिक्स मार्शल आर्ट खेलाडीको लुक्समा देख्न सकिन्छ। ‘जाइरा’का निर्देशक आशुतोष राज श्रेष्ठ हुन्।

‘लभर गर्ल’ को भूमिकामा निकै रुचाइएकी नम्रताले ‘जाइरा’ आफ्नो लागि विशेष रहेको बताइन्। जन्मदिनको केक काट्दै उनले भनिन्, ‘यो फिल्मको स्क्रिप्टमा आशुतोषले निकै वर्क गरेको छ। स्क्रिप्टमा मात्र उसले तीन बर्ष खर्चेको छ। उसको मेहनत, लगाव र उसप्रति मलाई विश्वास भएर नै ‘जाइरा’ गरेकी हुँ।’ त्यहि सन्दर्भमा उनले आफूले हरेक चलचित्रमा निभाएको क्यारेक्टर आफुलाई चुनौतीपूर्ण लाग्ने पनि बताइन्।

जाईरा टिजर हेर्न यहाँ क्लिक गर्नुहोस्

हरेक प्रकृतीका क्यारेक्टरलाई उत्तिकै महत्त्व दिने उनको भनाई छ। उनी भन्छिन्, ‘मैले मेरो क्यारेक्टरलाई शतप्रतिशत दिन सकिन भने दर्शकलाई सजिलै थाहा हुन्छ। दर्शकलाई झुक्याउन सकिन्न । त्यसैले म हरेक क्यारेक्टरलाई शतप्रतिशत दिने प्रयास गर्छु। मलाई हरेक क्यारेक्टर चुनौतीपूर्ण र हरेक फिल्म ड्रिम प्रोजेक्ट लाग्छ ।’ उनले ‘जाइरा’ बाट आफूले लभर गर्लको छवि मेट्ने प्रयास गरेको पनि बताइन्।

सम्झनलायक चलचित्र दिएकी नम्रता अभिनीत पछिल्लो चलचित्र ‘प्रसाद’ गत वर्ष प्रदर्शनमा आएको थियो। यस चलचित्रमा नम्रताको अभिनयको मुक्तकण्ठले प्रशंसा भएको थियो। हरेक फिल्ममा अभिनयमा विविधता पस्किरहेकी नम्रता पहिलो पटक ‘जाइरा’ मार्फत एक्सन अवतारमा प्रस्तुत हुन लागेकी हुन्। चलचित्रमा अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठसहित नव-कलाकारहरु श्रृजना रेग्मी, सुजिता श्रेष्ठ र सम्राट मगरको पनि मूख्य अभिनय छ।

‘जाइरा’का पटकथाकार निर्देशक श्रेष्ठ र निरोज महर्जन हुन्। यो चलचित्र कटामरी फिल्म्सको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रा.लि.को प्रस्तुतीमा बनेको हो । प्रसन्न गोपाली कार्यकारी निर्माता रहेको ‘जाईरा’लाई लोकेश बज्राचार्यले सम्पादन गरेका छन्।

कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत रहेको यो फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको छ भने द्वन्द्व कोरियोग्राफी राउल मोक्तान र मेघवार चेम्जोङको छ। यस चलचित्रमा केशव थापाको नृत्य निर्देशन छ भने डि.ओ.पी. बाबु श्रेष्ठको रहेको छ। ‘जाइरा’को प्रमोशन ब्यवस्थापक सुम्निमा देवान हुन्।

Namrata Shrestha’s Xira Looks | Images & Video

SUBSCRIBE 👉