गायन रियालिटी शो ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ को अडिशन खुल्ला


भ्वाइस स्टार नेपालले निर्माण गर्न लागेको गायन रियालिटी शो ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ को अडिशन खुल्ला भएको छ। इमेज एचडी टेलिभिजनबाट प्रसारणमा आउने उक्त रियालिटी शोलाई बिहिबारबाट खुल्ला अडिशन आह्वान गरिएको कार्यक्रमका निर्माता सुरजलाल जोशीले बताए।

अन्य रियालिटी शोमा भाग लिइसकेका वा पाँच वर्षभन्दा बढी अवधिदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायकगायिकालाई प्रतिस्पर्धीको रुपमा समावेश गरी निर्माण गर्न लागिएको शोको डिजिटल अडिसनमा समावेश हुनका लागि शोको आधिकारिक फेसबुक पेजमा गएर सो पेजको म्यासेज बक्समा वा सुपरस्टारको इमेलमा आफूले गाएको बढीमा दुई मिनेट लामो भिडियो पठाउनु पर्ने आयोजकले बताएको छ।

अडिशनमा छानिएका प्रतिष्पर्धीलाई भ्वाइस स्टार नेपालबाट सम्पर्क गरिने जानकारी निर्माता जोशीले दिएका छन्। यो कार्यक्रम आउँदो २०७९ वैशाख १८ गतेदेखि हप्ताको दुई दिन आइतबार र सोमबार बेलुका ८ बजे देखि ९ बजेसम्म नियमित रुपमा प्रसारण हुनेछ। प्रसारण पहिले डिजिटल अडिशनबाट प्रतिस्पर्धीहरु छनोट हुनेछन्।

यस शोमा प्रस्तोताको रुपमा टेलिभिजन प्रस्तोता विवेक सिंह ठकुरी र गायिका केन्जल मेहर श्रेष्ठ रहनेछन्। यसैबीच आयोजक संस्था भ्वाइस स्टार नेपालले अडिशन आह्वानसँगै ‘रियालिटी शो’को निर्णायक टिम पनि सार्वजनिक गरेको छ । यो कार्यक्रममा निर्णायकको भुमिकामा गायकहरु सञ्जय श्रेष्ठ, सत्यराज आचार्य, स्वरुपराज आचार्य र गायिका मिलन नेवार अनुबन्ध भएका छन्।

शोको निर्देशन लामो समयदेखि सञ्चार क्षेत्रमा कार्य गरेर विज्ञापनलगायत विभिन्न रियालिटी शो सफलताका साथ निर्देशन गरिसकेका रवि श्रेष्ठले गर्नेछन्। यो रियालिटी शो को विजेताले २५ लाख पुरस्कार पाउने यसअघि नै आयोजकले घोषणा गरिसकेको छ।

SUBSCRIBE 👉