संगीतमा उदाउँदै काव्य


kabya-acharya

ग्ल्यामर नेपाल, काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा नयाँ नयाँ प्रतिभावान कलाकारहरुको उदय भइरहेको छ। लगनशिल स्वभावको नयाँ पुस्ताले नेपाली संगीत क्षेत्रलाई सम्वृद्ध बनाइरहेको छ। काव्य आचार्य तीनै नयाँ पुस्ताकी प्रतिनिधि हुन्। काव्यको पहिलो एल्बम ‘काव्य’ हालै सार्वजनिक भएको छ। जसमा समावेश गीतसंगीतले चर्चा पाइरहेको छ।

कपिलवस्तु कोपवा–९ की स्थायी निवासी काव्य सानैदेखि स्कुलमा हुने कार्यक्रममा सक्रिय हुन्थिन्। सोही यात्रा पछ्याउदै उनी आजको स्थानमा आइपुगेकी हुन्। त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर गरेकी काव्य गीत सिर्जनासँगै संगीत पनि दिन्छिन्। शब्द, संगीत र गायनको त्रिवेणीमा रमेकी काव्यलाई सांगीतिक काव्यका रुपमा हेर्न थालिएको छ।

काव्यको पहिलो रेकर्डेड गीत ‘चरिले गुँड छाडेर गयो’ निकै रुचाइएको थियो। कर्ण चापागाईंको शब्द र श्रीकृष्ण बममल्लको संगीत रहेको उक्त गीतबाट उनले दोस्रो म्युजिक खबर म्यूजिक अवार्डमा नवगायिकाको अवार्ड चुमेकी थिइन्। ‘काव्य’मै समावेश गीत ‘किन आज…’बाट ‘तेस्रो रापती म्यूजिक अवार्ड’बाट उत्कृष्ट नवगायिकाको अवार्ड चुम्न सफल भयो। त्यस्तै, ‘तेस्रो म्युजिक खबर म्युजिक अवार्ड’मा काव्य एल्बमकै ‘तिम्लाई आफ्नो ठानेर’ बोलको गीतबाट उत्कृष्ट सुगमसंगीत गायिकाको उत्कृष्ट पाँचभित्र पर्न सफल भइन्।

दुई दर्जनभन्दा बढी गीतहरुमा स्वर भरिसकेकी काव्य श्री संगीत पाठशालामा चण्डीप्रसाद काफ्लेसँग चारवर्षदेखि संगीत शिक्षा लिइरहेकी छिन् ।

SUBSCRIBE 👉