भर्सटाईल निर्देशक मिलन चाम्स निर्देशत चलचित्र ‘गोर्खा वारियर’को फस्ट लुक्स सार्वजनिक गरिएको छ। नेपाली, हिन्दी र अँग्रेजी भाषामा निर्माण गरिएको यो चलचित्रको यतीबेला फस्ट लुक्सको रुपमा तीन वटा पोष्टर सार्वजनिक गरिएको हो।
सन १९४९ को ‘मलाया इमरजेन्सी जँगल वार’मा गोर्खाली सैनिकको शाहसिक युद्धकथालाई तस्बिरमार्फत फस्ट लुक्समा समेटिएको छ। एउटा पोष्टरमा चलचित्रमा ब्रिटिस गोर्खा सैनिकको रुपमा मुख्य अभिनेता रितेश चाम्स खुकुरी हातमा लिएर क्रोधित भावमा प्रस्तुत भएका छन्। यस्तै अर्को पोष्टरमा रितेश सहित गोर्खा सैनिक मेजरको भूमिका रहेका अर्का अभिनेता विजय लामा र अन्य कलाकार पनि ब्रिटिस गोर्खा सैनिककै भेषमा प्रस्तुत छन्। तेश्रो पोष्टरमा मुख्य अभिनेता रितेश चाम्ससहित उनको १२ जना ब्रिटिस गोर्खा सैनिकहरुको टिम युद्धमा जानको लागि तयारी मुद्रामा बसेका छन्।
यो चलचित्रबाट नायक रितेश चाम्सले डेब्यु गरेका हुन्। रितेशसँगै गोर्खा वारियरमा बिजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राई लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ।
यस अघि दर्जन सफल चलचित्र निर्देशन गरिसकेका निर्देशक मिलन चाम्सले यसपटक गोर्खाली सैनिकले ‘मलाया इमरजेन्सी जँगल वार’ युद्धमा गरेको सँघर्ष र उनीहरुको साहसिक कथालाई गोर्खा वारियर मार्फत विश्वका सिनेमा हलमा पुर्याउँदै छन्। चलचित्र नेपाल सहित विश्वका सिनेमा हलमा एकसाथ रिलिज हुने निर्देशक चाम्सले बताएका छन्। लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा सुस्मिता वाइवा, सुमन राई छन्। यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा र सहनिर्मातामा रुपमा सुरेश राई छन्।
यो चलचित्रको नेपाल र मलेशियामा छायाँकन भएको हो। गोर्खा वारियरमा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन जिसीको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन रहेको छ। यस्तै यो चलचित्रको हिन्दी भर्सनमा भारतीय गायक सानको स्वरमा गीत रहेको छ। यो चलचित्रमा युद्धसँगै गोर्खाली सैनिकको परिवारसँग बिछोडिँदाको मार्मिक कथा समेटिएको छ।