फिल्म ‘प्रसाद–२’ को इन्डक्ल्याप, वैशाख १ गते रिलिज


सुपरहिट फिल्म प्रसादको सिक्वेल फिल्म ‘प्रसाद–२’ को छायांकन सकिएको छ। ३१ दिनमा फिल्मको सुटिङ सकिएको निर्माण पक्षले जनाएको छ। सुदर्शन थापाको निर्देशनमा निर्माणाधीन फिल्म कास्कीको माछापुच्छ्रे गाउँपालिकामा छायाँकन पूरा गरिएको हो। एसजी फिल्म्स् र सुलभ थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म सुदर्शन बस्नेतले निर्माण गरेका हुन् भने कार्यकारी निर्माता सुवास थापा हुन्।

विपिन कार्की र केकी अधिकारी मुख्य भूमिकामा रहेको फिल्ममा अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डेलगायतले अभिनय गरेका छन्। पत्रकार तथा फिल्म लेखक सुशील पौडेलद्वारा लिखित फिल्ममा राजनराज शिवाकोटीको संगीत र राजेश श्रेष्ठको छायांकन रहेको छ।

फिल्मको इन्डक्ल्याप भएकै दिन यसको निर्माण पक्षले प्रदर्शन मितिसमेत तय गरेको छ। फिल्म आगामी २०८० सालको वैशाख १ गतेबाट रिलिज गर्ने पक्का गरिएको यसको निर्माण पक्षले जनाएको छ।

फिल्मको अघिल्लो संस्करण प्रसाद सुपरहिट भएपछि ‘प्रसाद–२’ निर्माण गरिएको हो। जातीय विभेदलाई मुख्य विषय बनाई सामाजिक कथामा बनेको फिल्मलाई लिएर फिल्म क्षेत्रमै ठूलो अपेक्षा गरिएको छ।

फिल्ममा अधिकांशतः अघिल्लो संस्करणकै कलाकारलाई निरन्तर दिइएको छ। केही आन्तरिक विवादका कारण केही कलाकारमा हेरफेर गरिएपछि यसको निर्माण कार्यलाई अघि बढाइएको थियो।

SUBSCRIBE 👉