‘पशुपतिप्रसाद’ रिलिजको सात वर्ष पछि ‘पशुपतिप्रसाद २ भष्मे डन’


पशुपतिप्रसादको ७ वर्ष पूरा भएको उपलक्ष्यमा फिल्म निर्माण टिमले ‘पशुपतिप्रसाद २ भष्मे डन’ फिल्म निर्माण गर्ने घोषणा गरेको छ। काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्म निर्माण टिमले यसबारेमा जानकारी दिएको हो। यो फिल्म ‘पशुपति प्रसाद’को दोस्रो सिक्वेल नभएको बताईएको छ।

पशुपतिप्रसादको एक पात्र भष्मे डनको चरित्रमाथि यो फिल्म निर्माण गरिने छ। फिल्ममा पशुपति प्रसादकी अभिनेत्री वर्षा शिवाकोटी र अभिनेता खगेन्द्र लामिछानेको अभिनय रहने छैन। तर अभिनेता लामिछाने भने चलचित्रको लेखक र निर्माताको रुपमा रहनेछन्।

दिपेन्द्र के खनालको निर्देशनमा निर्माण हुन लागेको ‘पशुपतिप्रसाद २ भष्मे डन’ मा विपिन कार्कीको मुख्य भुमिका रहनेछ। उनी ‘पशुपति प्रसाद’ को लोकप्रिय पात्र ‘भष्मे डन’ हुन्। फिल्ममा विपिन सँगै सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगर, विभू पौडेल, प्रकाश दाहाललगायत कलाकारको अभिनय रहनेछ।

चलचित्रको डिओपीमा निरज कँडेल, छायाँंकार कृष्ण थापा, सम्पादक दीर्घ खड्का रहेका छन्। चलचित्रमा कृष्ण भारद्वाज र सुवास भुसालले संगीत दिनेछन् ।

टुकी आर्टस्को ब्यानरमा निर्माण हुने यो फिल्म आगामी वर्षको २०८० को फूलपातीमा प्रदर्शनमा आउनेछ।

SUBSCRIBE 👉