राष्ट्रिय सम्मान सहित श्रीकृष्णको भावपूर्ण अन्त्येष्टि


Actor-Shree-Krishna-Shrestha-Cremated-with-State-Honors-2
ग्ल्यामर नेपाल, काठमाडौं । गत शनिबार राति नयाँ दिल्लीमा उपचारको क्रममा निधन भएका ४७ वर्षीय नेपाली फिल्मका लोकप्रिय अभिनेता श्रीकृष्ण श्रेष्ठको पार्थिव शरीरमा उनका हजारौं प्रशंसकले अन्तिम श्रद्धाञ्जली दिएका छन्। भारतको गंगाराम अस्पतालमा निधन भएका श्रीकृष्णको शवलाई सोमबार दिउँसो करिब साढे ३ बजे इण्डियन एयरलाइन्सको विमानबाट राजधानी ल्याइएको थियो। उनको शवलाई श्रद्धाञ्जली दिनका लागि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो एक बजेदेखि नै सर्वसाधारण तथा फिल्मकर्मीको बाक्लो उपस्थिति रहेको थियो। विमानस्थलमा निर्देशक आकाश अधिकारी, चलचित्र विकास बोर्डका अध्यक्ष धर्मेन्द्र मरवैता, वरिष्ठ अभिनेत्री बसुन्धरा भुषाललगायतका फिल्मकर्मीहरु पुगेका थिए। श्रीकृष्णको पार्थिव शरीर लिएर स्वदेश फर्केकी उनकी पत्नी नायिका स्वेता खड्का आफुलाई सम्हाल्न नसक्ने स्थितिमा थिईन्। उनलाई अभिनेत्री भुषाललगायत अन्य महिलाहरुले सम्हालेका थिए।

फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस

आकर्षक रुपले सजाइएको गाडीमा उनको शवलाई राखी सिनामंगल, नयाँवानेश्वर, बबरमहल, माइतीघर, पुतलीसडक हुँदै नेपाल प्रज्ञा प्रतिष्ठानमा पुर्याइएको थियो। श्रीकृष्णको शवलाई प्रतिष्ठानमा ल्याउन सुरक्षाकर्मीलाई निकै हम्मे हम्मे परेको थियो। ट्राफिक प्रहरीले उनको शवलाई सहजमा प्रतिष्ठानमा पुर्याउनका लागि नयाँवानेश्वरमा रहेको सडकको बीच भाग पूर्ण रुपमा खाली गराई त्यसको दाँयाबाया मात्र यातायातको साधन चलाउने व्यवस्था गरेको थियो।

यता प्रतिष्ठानमा अभिनेताको अन्तिम दर्शन गर्न उनका प्रशंसक तथा फिल्मकर्मीको चर्को भिड लागेको थियो। सुरक्षाका लागि खटिएका प्रहरीलाई पनि भिड नियन्त्रण गर्न हम्मे हम्मे नै परेको थियो। हजारौं संख्यामा उपस्थित सर्वसाधारण तथा फिल्मकर्मीमाझको भिड नियन्त्रण गर्न नसकिएपछि करिब साढे पाँच बजे प्रतिष्ठानमा ल्याइएको शवलाई गाडीबाट नउतारी पशुपति आर्यघाटतर्फ लगिएको थियो। उनलाई अन्तिम श्रद्धाञ्जली दिन सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजाल, महानायक राजेश हमाल, नेपाल टेलिभिजनका अध्यक्ष निर शाहलगायतका फिल्मकर्मी तथा सरकारी निकायका प्रतिनिधि प्रतिष्ठान पुगेका थिए।

फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस

Actor-Shree-Krishna-Shrestha-Cremated-with-State-Honors-1
अन्तिम श्रद्धाञ्जली दिने स्थानका रुपमा प्रतिष्ठानको प्रांगणलाई रोजिए पनि व्यवस्थापन फित्तलो भएपछि फिल्मकर्मीहरुले माइकमार्फत सर्वसाधारणलाई बाहिर जान पटक पटक आग्रह गरिरहेको देखिन्थ्यो। विमानस्थलबाट शवसँगै आएको सर्वसाधारणको भीड प्रतिष्ठानमा मिसिएपछि झन अस्तव्यस्त बनेको थियो। भिडलाई नियन्त्रण गर्न नसकिएपछि उनको शवलाई सिधै पशुपति आर्यघाट पुर्याईएको थियो।

सम्मानका साथ गरिएको शवयात्रापछि आर्यघाटमा मृत्युपरान्त सम्मानमा राष्ट्रिय झण्डा ओडाईयो। राष्ट्रिय झण्डा ओडाउँदै प्रहरीको एक टुकडीले अन्तिम सलामीसमेत दियो। सरकारका तर्फबाट सुचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले पशुपती आर्यघाटमा झण्डा ओडाएका हुन्।

फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस

SUBSCRIBE 👉