चार मिस नेपाल सहितको रेखा थापाको फिल्म ‘माया भनेकै यस्तो होला’ सुटिङ सकियो तीजमा रिलिज हुने तयारी

रेखा थापाको निर्देशनमा बनेको फिल्म ‘माया भनेकै यस्तो होला’को छायांकन २८ दिनमा सकिएको छ। चार मिस नेपालसहितको यो फिल्म तीजमा रिलिज हुने तयारीमा छ।


अभिनेत्री तथा निर्देशक रेखा थापाको नयाँ फिल्म ‘माया भनेकै यस्तो होला’को छायांकन औपचारिक रूपमा सकिएको छ। २८ दिनमा छायांकन टुंग्याइएको निर्माण टिमले जनाएको छ।

फाल्गुन २५ गतेबाट सुरु भएको फिल्मको सुटिङ काठमाडौं आसपासका विभिन्न स्थानमा गरिएको थियो। नियमित छायांकन तालिकाअनुसार काम सम्पन्न भएको फिल्म संयोजक राजन घिमिरेले जानकारी दिएका छन्।

यो फिल्म रेखा थापाको निर्देशनमा तेस्रो फिचर सिनेमा हो। ‘हिम्मतवाली’ र ‘मालिका’पछि उनी ८ वर्षपछि पुनः निर्देशनमा फर्किएकी हुन्। यसपटक भने उनले अभिनयभन्दा पूर्ण रूपमा निर्देशनमै ध्यान केन्द्रित गरेकी छन्।

विशेष कुरा के छ भने, रेखाले पहिलो पटक आफ्नै ‘रेखा फिल्मस्’ बाहिरको ब्यानरमा काम गरेकी छन्। ‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा बनेको यो प्रोजेक्ट नेपाली फिल्म उद्योगमा एउटा नयाँ अभ्यासका रूपमा हेरिएको छ, जहाँ स्थापित महिला निर्देशकले बाहिरी ब्यानरमा काम गरेकी छन्।

फिल्ममा कलाकारको लाइनअप निकै बलियो छ। मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठसँगै पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाह मुख्य भूमिकामा देखिनेछन्। साथै पूर्व मिस नेपाल उषा खड्गी विशेष भूमिकामा छिन्। यसरी एउटै फिल्ममा चार मिस नेपालको उपस्थितिले दर्शकमाझ चासो थपेको छ।

यसका साथै लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेललगायत कलाकारको पनि अभिनय रहनेछ।

फिल्म घोषणा गर्दा सार्वजनिक गरिएका पोस्टरहरूले पनि राम्रो चर्चा पाएका थिए। एउटा पोस्टरमा दिल श्रेष्ठसँग सृष्टि, नम्रता र नीति शाहको रोमान्टिक तथा भावनात्मक प्रस्तुति देखाइएको थियो भने अर्को पोस्टरमा मदनकृष्ण श्रेष्ठ र दिल श्रेष्ठबीचको भावुक सम्बन्ध देखाइएको थियो, जसले परिवार र जिम्मेवारीको कथा संकेत गरेको थियो।

हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ निर्माता रहेको फिल्ममा ध्रुव लम्सालको पटकथा छ। लामो समयपछि लेखनमा फर्किएका उनले स्क्रिप्टमा विशेष मेहनत गरिएको बताएका छन्।

टेक्निकल टिम पनि बलियो देखिन्छ, सुदीप बरालको छायांकन, अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, संगीत प्रशान्त सिवाकोटी, ड्रेस डिजाइन सुजेनी मल्ल, मेकअप प्रिया कार्की र प्रोडक्सन चुडामणी (सीएम) रहेका छन्।

रोमान्स र सामाजिक भावनालाई मिसाएर तयार गरिएको यो फिल्मलाई निर्माण टिमले आगामी वर्षको तीजको अवसरमा देशभर प्रदर्शन गर्ने लक्ष्य राखेको छ। पारिवारिक कथा र भावनात्मक प्रस्तुतिका कारण ‘माया भनेकै यस्तो होला’ दर्शकका लागि विशेष बन्ने अपेक्षा गरिएको छ।


यो पनि पढ्नुहोस्: फिल्म निर्देशनमा डेब्यु गर्दै अभिनेत्री नीता ढुङ्गाना, कास्कीबाट ‘पार्वती’को छायाँकन सुरु


SUBSCRIBE 👉