
नेपाली फिल्म ‘मालती मंगले’को आधिकारिक टिजर सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकको चासो बढेको छ। आगामी वैशाख २५ गते देखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको यस फिल्मले गाउँले परिवेशमा आधारित प्रेम, विश्वास र द्वन्द्वको कथा प्रस्तुत गर्ने संकेत दिएको छ।
रामकृष्ण ढकाल को निर्माण तथा प्रस्तुतिमा बनेको फिल्मको टिजरले केही वर्षअघिको ग्रामीण समाजको पृष्ठभूमिमा एक जोडीको प्रेमदेखि विवाह र त्यसपछिको जटिल सम्बन्धलाई भावनात्मक ढंगले देखाएको छ।
टिजरमा विजय बराल र वर्षा राउत बीचको प्रेम यात्रा देखिन्छ। विजयले वर्षासँग गरेको भावुक वाचा “मेरो कारणले जुन दिन तिम्रो आँखामा आँसु आउँछ, त्यो दिन मंगले मरेसरह हुन्छ” ले कथा सुरुवातमै दर्शकलाई जोड्छ।
तर कथा यत्तिमै सीमित छैन। विवाहपछि सम्बन्धमा आएको तनाव, शङ्का र द्वन्द्व टिजरको उत्तरार्धमा प्रस्ट देखिन्छ। गाउँलेहरूको बीचमा विजयले वर्षामाथि आक्रोश पोख्दै कुटपिट गर्ने दृश्यले कथा गहिरो र पीडादायी मोडतर्फ जाने संकेत गर्छ।
अर्का कलाकार मेक्सम गौडेल को उपस्थिति पनि महत्वपूर्ण देखिन्छ। उनले विजयसँग आक्रोश व्यक्त गर्ने दृश्यले कथामा थप द्वन्द्व र मोड ल्याउने अनुमान गर्न सकिन्छ।
‘मालती मंगले’ को टिजर हेर्न यहाँ क्लिक गर्नुहोस्
निर्देशक प्रकु पाण्डेय ले तयार पारेको यस फिल्मलाई रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टसँगको सहकार्यमा निर्माण गरिएको हो। कथा स्वयं निर्देशक पाण्डेयकै हो भने पटकथा तथा संवाद संयोग गुरागाईंले लेखेका छन्।
यसअघि फिल्मका ‘सुनैको सपनी’ र ‘ढुङ्गा माथि लेऊ’ गीतहरू सार्वजनिक भइसकेका छन्, जसले दर्शकमाझ राम्रो प्रतिक्रिया पाइसकेको छ। निर्माता ढकालका अनुसार ‘मालती मंगले’ राष्ट्रकवि माधवप्रसाद घिमिरे को गीतिनाटक नभई हाम्रो समाजकै परिवेशमा आधारित एक फरक साङ्गीतिक प्रेमकथा हो।
फिल्ममा विजय बराल, वर्षा राउत, मेक्सम गौडेलसँगै नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङलगायत कलाकारको अभिनय रहेको छ।
प्राविधिक पक्षमा महेश पौडेलको छायांकन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको कलर ग्रेडिङ र डिकेश खड्गीको साउन्ड डिजाइन रहेको छ। गीतमा हर्क साउदको शब्द, एसडी योगीको संगीत र रिकेश गुरुङको एरेन्ज छ भने नृत्य निर्देशन रोशन बिकले गरेका छन्।
ग्रामीण परिवेश, गहिरो भावनात्मक कथा र सशक्त कलाकारका कारण ‘मालती मंगले’ यस वर्षको प्रतिक्षित फिल्ममध्ये एक बन्ने देखिएको छ।
यो पनि पढ्नुहोस्: पहिलो पटक आमाछोरीको स्क्रिन केमेस्ट्री: ‘बाः एक योद्धा’मा झरना र सुहाना थापा
