भारतीय प्राविधिक टिमसहित गुपचुप सुटिङमा प्रियंका कार्कीको ‘मास्टर्नी’

प्रियंका कार्कीको नयाँ फिल्म ‘मास्टर्नी’को छायांकन गुपचुप रूपमा सुरु भएको छ। ‘आयंका फिल्म्स’को ब्यानरमा निर्माण भइरहेको यस फिल्ममा निर्देशक सहित प्राविधिक टिमको ठूलो हिस्सा भारतीय रहेको जनाइएको छ।


अभिनेत्री प्रियंका कार्की आफ्नो नयाँ फिल्म ‘मास्टर्नी’को छायांकनमा व्यस्त छिन्, र यो प्रोजेक्ट हालसम्म गुपचुप शैलीमै अघि बढाइएको छ।

निर्माण टिमसँग निकट एक स्रोतका अनुसार फिल्मको छायांकन चैत १३ गतेबाट सुरु गरिएको हो। सुरुवाती चरणमा कास्की जिल्लाको एक गाउँमा तीन दिन सुटिङ गरेर टिम अहिले काठमाडौं फर्किएको छ। आगामी दिनमा पुनः काठमाडौं र अन्य लोकेसनमा छायांकन जारी रहने बताइएको छ।

‘मास्टर्नी’मा प्रियंका स्वयं मुख्य भूमिकामा देखिनेछिन्। उनको साथमा गौरी मल्ल, ऋचा शर्मा, आर्यन सिग्देल लगायतका कलाकारहरूको बलियो उपस्थिति रहेको छ।

‘आयंका फिल्म्स’को ब्यानरमा निर्माण भइरहेको यस फिल्ममा निर्देशक सहित प्राविधिक टिमको ठूलो हिस्सा भारतीय रहेको जनाइएको छ। फिल्मको प्रस्तुतिमा फरक शैली आउने अपेक्षा गरिएको छ।

प्रियंका कार्की पछिल्लो समय अभिनयसँगै निर्माण क्षेत्रमा पनि सक्रिय छिन्। उनले यसअघि वेब सिरिज ‘Just Another Love Story’ र सर्ट फिल्म ‘टाँक’ निर्माण गरिसकेकी छन्। ‘मास्टर्नी’ उनको लागि अर्को महत्वपूर्ण प्रोजेक्टका रूपमा हेरिएको छ।

फिल्मको कथावस्तुबारे निर्माण टिमले औपचारिक रूपमा केही खुलाएको छैन। तर शीर्षक र कलाकारको छनोट हेर्दा शिक्षण पेशा, महिला पात्रको संघर्ष र सामाजिक परिवेशसँग जोडिएको कथा हुन सक्ने अनुमान गरिएको छ।

हालसम्म फिल्मको रिलिज मिति सार्वजनिक गरिएको छैन। निर्माण टिमले छायांकन सकेपछि मात्र थप जानकारी दिने तयारी गरेको बुझिएको छ।


यो पनि पढ्नुहोस्: रामकृष्ण ढकालको ‘मालती मंगले’ टिजर रिलिज, प्रेमदेखि द्वन्द्वसम्मको गाउँले कथाले बढायो उत्सुकता


SUBSCRIBE 👉