मल्टिस्टार फिल्म ‘पाँच पाण्डव’मा नयाँ ट्विस्ट; कलाकार सुशील सिटौलाको प्रवेश

चलचित्र ‘पाँच पाण्डव’मा कलाकार सुशील सिटौलाको प्रवेश भएको छ। उनी पाँच मुख्य पात्रमध्ये एकको भूमिकामा देखिने छन् र हरिवंश आचार्यसहितको बलियो टिमसँग स्क्रिन सेयर गर्नेछन्। महाभारतको बिम्बमा आधारित यो सोसल ड्रामा अहिले झापामा छायांकन भइरहेको छ।


छायांकनकै बीचमा चलचित्र ‘पाँच पाण्डव’ झन् रोचक बनेको छ। कारण, कलाकार सुशील सिटौला अब आधिकारिक रूपमा टिममा भित्रिएका छन्।

प्रस्तुतकर्ता नवीन श्रेष्ठ का अनुसार, सिटौला फिल्मका पाँच मुख्य पात्रमध्ये एक ‘पाण्डव’को भूमिकामा देखिने छन्। “हामीले खोजे जस्तो कलाकार पाएका छौँ,” उनले भने। सिटौलाले अब हरिवंश आचार्य जस्ता अनुभवी कलाकारसँग स्क्रिन सेयर गर्नेछन्।

यसअघि नै फिल्ममा प्रशान्त ताम्राकार र इभा गिरी जोडिइसकेका छन्। कास्ट लाइनअप हेर्दा पुराना र नयाँ पुस्ताका कलाकारहरूको रोचक मिश्रण देखिन्छ।

काली रानी फिल्मस्को ब्यानरमा बन्ने यो चलचित्रलाई वसन्त निरौला ले निर्देशन गरिरहेका छन्। गत चैत २ गते काँकडभिट्टाबाट शुभमुहूर्त गर्दै सुरु भएको छायांकन अहिले झापाका विभिन्न स्थानमा भइरहेको छ।

फिल्ममा जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला ‘पाँच पाण्डव’का मुख्य पात्रका रूपमा देखिनेछन्। साथै दीपाश्री निरौला, सरिता गिरी, बिनोद न्यौपाने र रमा थपलिया लगायत कलाकारको पनि महत्वपूर्ण भूमिका रहनेछ।

लेखक सुशील पौडेल का अनुसार, ‘पाँच पाण्डव’ एउटा सोसल ड्रामा हो, जसले महाभारतका पाँच पाण्डवको प्रतीक प्रयोग गर्दै आजको नेपाली समाजको कथा भन्छ।

निर्माता काली रानी श्रेष्ठ रहेको यो फिल्मको अधिकांश छायांकन झापामै हुनेछ। झापाको सेड्युल सकिएपछि टिम अन्य स्थानमा सर्ने तयारीमा छ।

कथा, पटकथा र संवाद सुशील पौडेलकै रहेको फिल्मलाई श्याम तामाङले खिचिरहेका छन्।


यो पनि पढ्नुहोस्: प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति खुलासा पछि सेलिब्रिटी समर्थन, आलोचनालाई जवाफ


SUBSCRIBE 👉