आक्रामक व्यापार गर्दै कोहिनूर


Kohinoor-Movie
ग्ल्यामर नेपाल, काठमाडौं । स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठले निर्माण गरेको दोस्रो फिल्म ‘कोहिनूर’ले फिल्म हलमा आक्रामक व्यापार गरेको छ । गत साता रिलिज फिल्मले शुक्रबार र शनिवार उल्लेख्य व्यापार नगरेपनि भारतमा उपचाररत निर्माता तथा अभिनेता श्रेष्ठको निधन भएपछि हलमा एक्कासी दर्शकको चाप बढेको हो ।

गत शनिवार राती श्रेष्ठको निधन भएको समाचार सार्वजनिक भएपछि उनको फिल्म हेर्न आउने दर्शकको संख्या आक्रामक रुपमा फिल्म हलमा बढेको छ । फिल्मको राजधानी वितरण हेरिरहेका वितरक सुनिल मानन्धरका अनुसार कतिपय हलमा दर्शकहरु टिकट नपाएर खाली हात फर्किएका छन् । चार बर्षदेखि हाउस फूल हुन नसकेको राजधानीको कालोपुलस्थित हिरारत्न हलको बिहानीको शो पनि हाउस फुल भएको हल व्यवस्थापक मनोज केसीले बताए । चाबहिलस्थित गोपीकृष्ण हलमा टिकट नपाएपछि दर्शकहरुले ब्ल्याकमै भए पनि टिकट किनेको रिर्पोट प्राप्त भएको छ ।मल्टीप्लेक्सतर्फ क्यूएफएक्स कुमारीसहित सिभिल मलमा सम्पूर्ण शो सोल्ड आउट भएका छन् । फिल्मको मोफसल वितरण हेरिरहेको एफडी कम्पनीले पनि कोहिनूरको ब्यापारलाई ईतिहासमै उत्कृष्ठ व्यापार भनेको छ ।

फिल्मले हेटौडाको सुविधा सम्पन्न हल ओम्याक्समा अजय देवगनको फिल्म ‘सिंघम रिटर्नस्’ लाई रिप्लेस गरिदिएको छ । मेजर स्टेशनहरु पोखरा, बुटवल, धरान, नारायणगढमा दर्शकको फ्लो बढेको छ । फिल्म हेर्नेमा बालबालिका र महिलाको संख्या उल्लेख्य छ । फिल्मका निर्देशक आकाश अधिकारीले श्रीको सम्मानमा दर्शकले देखाएको मायाको ऋण कहिलै तिर्न नसकिने बताए । फिल्ममा श्रीकृष्ण पत्नी अभिनेत्री स्वेता खड्काको पनि अभिनय रहेको छ । फिल्मले आठ दिनमा दुई करोड ४४ लाखको व्यापार गरिसकेको छ ।

SUBSCRIBE 👉