सरोज पौडेल निर्देशित ‘सिन्दुरे जात्रा’ मंसिर ४ मा दर्शकमाझ आउँदै

‘पूर्णबहादुरको सारङ्गी’पछि निर्देशक सरोज पौडेलको नयाँ चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने भएको छ। विजय बराल र अञ्जना बराइली फेरि एकसाथ देखिँदैछन्।


Actress Anjana Baraili

नेपाली बक्स अफिसमा ऐतिहासिक सफलता हात पारेको‘पूर्णबहादुरको सारङ्गी’पछि निर्देशक सरोज पौडेल आफ्नो नयाँ चलचित्र ‘सिन्दुरे जात्रा’ लिएर दर्शकमाझ आउने तयारीमा छन्। छायांकनकै चरणमा रहेको फिल्मले प्रदर्शन मिति तय गर्दै मंसिर ४ गतेलाई रिलिज डेट लक गरेको छ।

निर्देशक पौडेलका अनुसार फिल्मको प्रदर्शन मिति वितरकसँगको सल्लाह र बजारको उपयुक्त समय हेरेर तय गरिएको हो। उनले हतारमा फिल्म रिलिज गर्नुभन्दा पोस्ट–प्रोडक्सनमा पर्याप्त समय दिएर राम्रो तयारीका साथ दर्शकमाझ ल्याउने योजना रहेको बताएका छन्।

“वितरकसँग सल्लाह गरेर हामी सबैको उपयुक्त समय हेरेर मंसिर ४ गते आउने निर्णयमा पुगेका हौँ,” निर्देशक पौडेलले भने, “यो मितिमा हाम्रो चलचित्रलाई सबैले सहयोग गर्नुहुनेछ भन्ने हाम्रो अपेक्षा छ।”

सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको ‘सिन्दुरे जात्रा’को छायांकन पर्वतको कुस्मा नगरपालिका–१४, आर्थर डाँडाखर्कबाट सुरु गरिएको हो। प्राकृतिक लोकेसन र मौलिक नेपाली परिवेशलाई केन्द्रमा राखेर अघि बढाइएको फिल्मको छायांकन अहिले केही समयका लागि रोकिएको छ।

छायांकनका क्रममा मुख्य अभिनेता विजय बरालको हात फ्याक्चर भएपछि निर्माण टिमले ब्रेक लिएको हो। बाँकी छायांकन असार १५ पछि मात्रै अघि बढाउने तयारी गरिएको छ।

‘सिन्दुरे जात्रा’लाई दर्शकले विशेष चासोका साथ हेर्नुको अर्को कारण हो—सरोज पौडेल, विजय बराल र अञ्जना बराइलीको पुनः सहकार्य। यो टिम यसअघि ‘पूर्णबहादुरको सारङ्गी’मा जोडिएको थियो, जसले नेपाली चलचित्र बजारमा ठूलो व्यावसायिक सफलता हासिल गरेको थियो।

फिल्ममा विजय बराल, अञ्जना बराइली र विनोद न्यौपाने मुख्य भूमिकामा छन्। उनीहरूसँगै कमलमणि नेपाल, लोकेन्द्र लेखक, भोलाराज सापकोटा, पूर्वमिस नेपाल उषा खड्गी लगायत कलाकारहरूको अभिनय रहनेछ।

चलचित्रको लेखन निर्देशक पौडेल स्वयंले गरेका हुन्। पटकथा तथा संवाद सविन अधिकारी र वसन्त न्यौपानेले तयार पारेका छन्। फिल्मका कार्यकारी निर्माता दिनेश खड्का हुन् भने आकाश, सुमन रञ्जित र श्याम मगर सह–निर्माताका रूपमा छन्।

फिल्ममा बाबु श्रेष्ठको छायांकन, नहकुल खड्काको सम्पादन तथा प्रशान्त सिवाकोटी, रिदम कँडेल र नन्दु परियारको संगीत रहनेछ।

‘पूर्णबहादुरको सारङ्गी’पछि सरोज पौडेलको निर्देशनमा बन्न लागेको यो फिल्मले दर्शकमा स्वाभाविक अपेक्षा बढाएको छ। छायांकन नसकिँदै रिलिज डेट घोषणा गरिनुले निर्माण टिमले प्रचार, पोस्ट–प्रोडक्सन र प्रदर्शन रणनीति व्यवस्थित रूपमा अघि बढाउन खोजेको संकेत गर्छ।


यो पढ्नुहोस्: विनयराज पौडेलको डेब्यु निर्देशन ‘अक्षरा’को छायांकन सकियो, भदौ २६ मा प्रदर्शन तयारी


SUBSCRIBE 👉