बिहेपछि लक लाग्यो: आर्यन सिग्देल


aaryan-sigdelनायक आर्यन सिग्देलले हालै प्रेमिका सपना भण्डारीसँग विवाह गरेर आफ्नो प्रेमलाई गन्तव्य दिएका छन्। धूमधामसँग विवाह गरेका आर्यनको यही बेला निर्माता सुवास गिरीसँगको संयुक्त लगानीमा निर्मित फिल्म नोभेम्बर रेन हाल प्रदर्शन भईरहेको छ। उनको प्रेम, विवाह र उनीद्वारा निर्मित फिल्मका विषयमा गरिएको कुराकानी:

तपार्इं फिल्मको पर्दामा त धेरै पटक बेहुला बनिसक्नुभयो। रियल लाइफमा बेहुला बन्दाचाहिँ कस्तो महसुस हुँदो रहेछ?
नर्मल्ली विवाह भन्ने कुरा हाम्रो लाइफको कल्चरल्ली पार्ट हो। तर यो कुनै अनौठो चीजचाहिँ होइन। मेरो बिहे अहिले भयो, अहिले नभएको भए भोलि हुन्थ्यो। तर कचरल्ली विवाह गर्दाको एउटा भिन्न रमाइलो अनुभवचाहिँ गरें।

हनिमुनका लागि कहाँ जाने त?
वास्तवमा मैले हनिमुनको बारेमा केही सोच्नै पाएको छैन किनभने विवाहलगत्तै नोभेम्बर रेनको रिलिज पर्यो। बिहे अघिदेखि बिहेपछिसम्म पनि फिल्मको पब्लिसिटीमै व्यस्त रहें। त्यसैले अहिले हनिमुन जान पाइनँ। फुर्सद मिल्यो भने सल्लाह गरेर कतै जानुपर्ला भन्नेछ।

तपाईं सपनाजीभन्दा ९ वर्षले जेठो हुनुहुन्छ। यो ग्यापले इन्ट्रेस्ट नमिल्ने हो कि भन्ने लाग्दैन?
त्यस्तो केही लाग्दैन। त्यसमा आफ्नो सम्बन्धलाई कसरी डेभलप गर्ने भन्ने हो। केटा र केटीको उमेरमा यतिको अन्तर सामान्य कुरा हो। फेरि हामीले एक अर्कालाई राम्ररी बुझेर नै पति–पत्नीका रूपमा अपनाएका हौं।

विवाहचाहिँ गर्नुभयो अब बच्चाचाहिँ कहिले र कति जन्माउने?
अहिले नै त्यस्तो प्लान र सल्लाह केही भएको छैन। तर मलाई चाहिँ बच्चा चाँडै होस् भन्ने लाग्छ।

विवाहपछि तपार्इंले आफ्नो जीवनमा केही सुधार गर्नुपर्ने प्रण त गर्नुभएको छ कि?
मैले कसको के बिगारेको थिएँ र सुधार्ने? हिजो पनि मैले कसैको केही बिगारेको छैन। हिजो जस्तो थियो मेरो जीवन भोलि पनि त्यस्तै हुन्छ। अब दाम्पत्य जीवनको फरक भने होला।

उहाँले तपार्इंको सबैभन्दा बढी मन पराउने पक्ष के हो?
म कहिल्यै पनि झुटो बोल्दिनँ, केयरिङ गर्छु। यी कुराहरु नै हो उसले मन पराउने। हामीलाई एक अर्काको नजिक बनाउने पक्ष पनि यिनै हुन्।

सपनाजी प्रेमिकापछि तपार्इंको पत्नी त हुनुभयो नै, तपार्इंको पहिलो प्रेमिकाचाहिँ को हुनुहुन्थ्यो?
पहिले जो भए पनि, पहिलो प्रेम जोसँग भए पनि सपनासँगै बिहे भयो। अब ऊसँगै जीवन बिताउने हो। त्यसैले मेरो पहिलो र अन्तिम प्रेमिका पनि सपना नै हो।

विवाह एउटा बन्धन हो, यसले झमेला सृजना गर्छ भनिन्छ नि? यसमा तपाईंको मत के छ?
मानिसले विवाहलाई कसरी लिन्छ भन्ने कुरा हो। यो उसले आफ्नो सम्बन्धलाई कसरी अगाडि बढाउने भन्नेमा भर पर्छ। राम्रोसँग अगाडि बढाउन सक्यो भने राम्रो हुन्छ। विवाहलाई झन्झटिलो रूपमा लियो भने झन्झट नै हुन्छ।

तपाईंको नजरमा विवाह के हो जस्तो लाग्छ?
विवाह आवश्यकता र इच्छा दुवै हो।

तपार्इंले निर्माण गर्नुभएको फिल्म नोभेम्बर रेनलाई आफ्नो करिअरकै टर्निङ प्वाइन्ट भन्दै आउनुभएको छ। फिल्म रिलिज भएपछि कस्तो पाउनुभएको छ?
सोचेभन्दा पनि राम्रो भएको छ। सबैतिरको हल हाइली अकुपाइड छ। आज (शुक्रबार) बिदाको दिन पनि थिएन। सबै ठाउँमा हलहरू शतप्रतिशत फुलफिल छन् भन्ने खबर छ। हलमा शोहरु पनि बढ्दै गइरहेको छ। यसले मलाई र मेरो टिमलाई एक्साइटेड बनाएको छ।

दर्शकहरुको प्रतिक्रिया के छ?
आउट स्टइन्डिङ।

भनेपछि बिहे फाप्यो कि क्या हो?
खै क भनौं के भनौं, त्यस्तै भन्नुपर्ला। उनीसँग बिहे गर्नुअगाडि म कलाकार मात्र थिएँ, बिहेपछि निर्माताको रूपमा आएँ। बिहेलगत्तै फिल्म रिलिज भयो। दर्शकले पनि मन पराइदिनुभयो। बिहेपछि निर्मताको रूपमा लक लाग्यो जस्तो छ।

तपाईं हिरोका रूपमा सधैं हिट हुनुभयो तर तपाईंका फिल्महरु प्रायः असफल रहे, यस्तोचाहिँ किन?
यो रङ इन्फरमेसन हो। मैले अहिलेसम्म २४ वटा फिल्म खेलें, चारवटा मात्र फ्लप भएको होला। फेरि फिल्म चल्ने र नचल्नेमा धेरै कुराले फरक पार्छ। फिल्म हलमा लागेको दर्शकलाई थाहै भएन भने के गर्ने? फिल्म सफल र असफल हुनुमा फिल्म कस्तो हलमा लाग्यो, त्यसको पब्लिसिटी कस्तो रह्यो भन्नेमा भर पर्छ। कतिपय फिल्ममा स्टोरी राम्रो लागेर खेल्यो, त्यसको पब्लिसिटी साह्रै झुर भइदिन्छ।

तपाईंले सपनाजीलाई आफ्नो कुनै फिल्म देखाउनुभएको छ?
किन नदेखाउनु, देखाएको छु नि। धुवाँ यो नशा, महसुस, मधुमासलगायतका प्रायः मेरो फिल्म देखाएको छु। अब नोभेम्बर रेन देखाउँछु।

प्रेमिका (अहिले श्रीमती) सँग बसेर फिल्म हेर्दा कस्तो प्रतिक्रिया पाउनुहुन्थ्यो?
एकदमै नर्मल हुन्छ। राम्रो भए राम्रो भन्छ। नराम्रो भएचाहिँ गाली खान्छु। एउटा फिल्म हेरेर निकै गाली गरेकी छिन्। त्यो फिल्मको नामचाहिँ भन्दिनँ है।
– समाचार पत्र / पेज थ्री

SUBSCRIBE 👉