
फिल्म ‘झिंगे दाउ २’को ट्रेलर सार्वजनिक ट्रेलरमा दाजुभाइ र देउरानी–जेठानीबीचको द्वन्द्वसँगै आमाको ममता, सन्तानको प्रेम र आमा खोज्ने भावनात्मक कथालाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ।
असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्मले केन्द्रीय चलचित्र जाँच समिति, काठमाडौँबाट सेन्सर प्रमाणपत्रसमेत पाइसकेको छ। फिल्मलाई PG सर्टिफिकेट दिइएको छ। यसअनुसार १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकको साथमा फिल्म हेर्नुपर्नेछ।
कपनगढी सिनेमा प्रा.लि. र फिल्म क्रिउ नेपाल प्रा.लि.को ब्यानरमा निर्माण भएको फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन्। फिल्ममा सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी रहेको छ।
रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माता रहेको फिल्ममा विष्णु घिमिरे ‘कल्पित’को डीओपी, मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत र रोशन श्रेष्ठको एक्सन छ। फिल्मका प्रोडक्सन हेड ईश्वर घिमिरे हुन्।
फिल्ममा केकी र आँचलसँगै महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी र आशा भुसाललगायत कलाकारको अभिनय छ।
परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्ममा गोविन्दु फुयाँल र शिशिर चालिसेको लेखन छ।
यसअघि सार्वजनिक फिल्मको टिजरले पनि दर्शकको ध्यान तानेको थियो – (टिजर हेर्न यहाँ क्लिक गर्नुहोस्) । फिल्ममा समावेश ‘जेठानी भर्सेस देउरानी’ बोलको तीज ब्याटल गीत युट्युब र टिकटकमा भाइरल बनेको छ।
युट्युबमा उपलब्ध पहिलो ‘झिंगे दाउ’ले राम्रो भ्युज पाइरहेको छ (पुरा फिल्म हेर्न यहाँ क्लिक गर्नुस्)। पहिलो फिल्म हेरेका दर्शकमाझ सिक्वेल ‘झिंगे दाउ २’ प्रतिको उत्सुकता देखिएको बेला सार्वजनिक नयाँ ट्रेलरले फिल्मको पारिवारिक कथा र पात्रबीचको सम्बन्धबारे थप संकेत दिएको छ।
ट्रेलर हेर्नुहोस्


