तीन देशको सहकार्यमा बनेको जम्बी हरर ‘टनेल २६’ ले पायो प्रदर्शन मिति

नेपाल, भुटान र भारतको सहकार्यमा बनेको जम्बी हरर चलचित्र ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’ असोज २३ अर्थात् अक्टोबर ९ मा नेपाल र भुटानमा रिलिज हुँदैछ।

नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको जम्बी हरर चलचित्र ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’ आगामी अक्टोबर ९ अर्थात् असोज २३ गते नेपाल र भुटानका हलमा एकसाथ प्रदर्शन हुने भएको छ। निर्माण टिमले चलचित्रको आधिकारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।

संगय छेल्ट्रिम फिल्म्स र पिक एक्सभी स्टुडियोजको ब्यानरमा निर्माण भएको चलचित्रमा चौधरी ग्रुपका निर्वाण चौधरी, अभिनेता प्रदीप खड्का, भारतीय फिल्ममेकर प्रशान्त कुमार गुप्ता, भुटानी अभिनेता–निर्माता संगय छेल्ट्रिम र दोर्जी वाङ्चुकसहित विभिन्न निर्माताको सहकार्य छ।

चलचित्रलाई भुटानको शाही सरकारअन्तर्गतको मिडिया, क्रिएटिभ इन्डस्ट्री तथा इन्टेलेक्चुअल प्रोपर्टी विभागले समेत सहयोग गरेको छ।

सार्वजनिक पोस्टरमा अँध्यारो र रहस्यमय सुरुङलाई केन्द्रमा राखिएको छ। सुरुङभित्र केही पात्र देखिएका छन् भने शीर्षकसँग जोडिएको ‘द कर्स बिनिथ द माउन्टेन’ अर्थात् ‘पहाडमुनिको श्राप’ले कथाको रहस्यमय संसारतर्फ संकेत गर्छ। पोस्टरले चलचित्रको जम्बी र हरर पक्षलाई प्रमुख रूपमा प्रस्तुत गरेको छ।

चलचित्रको लेखन, निर्देशन तथा सम्पादन डीडी किन्लेले गरेका हुन्। मुख्य भूमिकामा संगय छेल्ट्रिम, अनुपविक्रम शाही, अन्ना शर्मा, निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादा छन्।

दोर्जी वाङ्चुक कार्यकारी निर्माता हुन् भने प्रदीप खड्का क्रिएटिभ प्रोड्युसरका रूपमा जोडिएका छन्। निर्माण सहकार्यका हिसाबले ‘टनेल २६’ प्रदीपको चौथो चलचित्र हो। यसअघि उनले ‘स्केप’, ‘ठुलो मान्छे’ र ‘एक्लो’मा निर्माण सहकार्य गरेका थिए।

नेपाल, भुटान र भारतका कलाकार तथा प्राविधिक जोडिएको चलचित्रलाई नेपाल र भुटानपछि अन्तर्राष्ट्रिय बजारमा समेत लैजाने तयारी छ। निर्माण टिमका अनुसार एसिया र उत्तर अमेरिकासहितका बजारमा अन्तर्राष्ट्रिय वितरण साझेदारमार्फत चलचित्र प्रदर्शन गर्ने योजना बनाइएको छ।

चलचित्रको छायांकन दीर्घ गुरुङ र संगय टी. तेन्जिङले गरेका हुन्। राजु तामाङ एक्सन निर्देशक, कृष्ण शर्मा निर्माण डिजाइनर, पेमा लामो निर्माण व्यवस्थापक तथा ब्लु छेरिङ दोर्जी मेकअप तथा पोसाक विभाग प्रमुखका रूपमा छन्।

‘टनेल २६’को संगीत तथा ध्वनिसम्बन्धी काम थाइल्यान्डमा गरिएको छ। तेर्डसाक जानपानले पृष्ठभूमि संगीत तयार पारेका छन् भने करण थामावोङले ध्वनि डिजाइन तथा पुनः रेकर्डिङ मिक्सिङ सम्हालेका छन्।

त्यस्तै, रथाकोर्न थोङनुनले संवाद सम्पादन तथा फोलीको काम गरेका छन् भने दृश्य प्रभाव निफान स्टुडियोले तयार पारेको छ। चलचित्रको नेपाल व्यवस्थापन लिभेन्टस् स्टुडियो प्रा.लि.ले गरेको हो भने सन्तोष कुमार कार्कीले व्यवस्थापन सम्हालेका छन्।

यसअघि ‘टनेल २६’को टिजर अगस्ट १४ मा सार्वजनिक गरिएको थियो। निर्माण टिमका अनुसार टिजरले नेपाल र भुटानसँगै युरोप तथा उत्तर अमेरिकाका दर्शक र अन्तर्राष्ट्रिय वितरकको ध्यानसमेत खिचेको छ।

SUBSCRIBE 👉