दशैं रिलिजको भिडबाट बाहिरियो अनमोलको ‘बाटुलो जुन’, अब रिलिज कहिले ?

असोज ३० मा आउने भनिएको ‘बाटुलो जुन’ अब कात्तिक २६ मा रिलिज हुनेछ। निर्माण टिमले दशैंको व्यस्त रिलिज तालिकालाई मिति सार्नुको कारण बताएको छ।

दशैंमा अनमोल केसी र प्रिन्सी खतिवडाको जोडी पर्दामा हेर्ने तयारी गरेका दर्शकले केही समय थप कुर्नुपर्ने भएको छ। असोज ३० मा प्रदर्शन हुने भनिएको ‘बाटुलो जुन’ अब कात्तिक २६ अर्थात् नोभेम्बर १२ मा रिलिज हुनेछ।

निर्माण टिमले नयाँ पोस्टर सार्वजनिक गर्दै मिति परिवर्तनको जानकारी दिएको हो। पोस्टरमा अनमोल र प्रिन्सीलाई पूर्णिमाको जूनमुनि सँगै देखाइएको छ। पोस्टरसँगै फिल्मले दशैंको मिति छाड्नुको कारण पनि खुलेको छ।

निर्माण टिमका अनुसार दशैंमा अन्य चार फिल्म पनि प्रदर्शनको तयारीमा छन्। थप एउटा फिल्म आए हल र शो बाँडफाँटमा समस्या हुन सक्ने सुझाव प्रदर्शक र वितरकले दिएपछि ‘बाटुलो जुन’को मिति सारिएको हो।

टिमले भिडेर जानुभन्दा मिलेर जानु नेपाली फिल्म क्षेत्रका लागि राम्रो हुने उल्लेख गर्दै दशैंमा प्रदर्शन हुने चारवटै फिल्मलाई शुभकामना दिएको छ। वक्तव्यमा ती फिल्मको नाम भने खुलाइएको छैन।

यसअघि अनमोल र प्रिन्सीलाई प्रस्तुत गरिएको पोस्टरमार्फत फिल्मको प्रदर्शन मिति असोज ३० (अक्टोबर १६) घोषणा गरिएको थियो। नयाँ घोषणासँगै फिल्म दशैंको व्यस्त रिलिज तालिकाबाट बाहिरिएको छ।

‘बाटुलो जुन’लाई भुवन केसीले निर्देशन गरेका हुन्। फिल्ममा अनमोल र प्रिन्सीसँगै न्यान्सी खड्का, गरिमा पन्त र भुवन केसी पनि कलाकारका रूपमा जोडिएका छन्।

सनराइज पिक्चर्सले प्रस्तुत गरेको फिल्मका निर्माता जिया केसी र भविष्य खड्का हुन् भने विवेक थापा सह–निर्माता हुन्। पटकथा सामिप्यराज तिमल्सेना र सरिन पोखरेलले लेखेका छन्।

अब अनमोल र प्रिन्सीको जोडीलाई पर्दामा हेर्न चाहने दर्शकले सम्झनुपर्ने नयाँ मिति कात्तिक २६ हो।

SUBSCRIBE 👉