आठ वर्षपछि स्टेजमा फर्कदै रमेश


Karishma-manandhar-ramesh-upreti
ग्ल्यामर नेपाल, काठमाडौं । फिल्म ‘पराईघर’बाट नायकका रुपमा उदाएका अभिनेता रमेश उप्रेती आठ वर्षपछि स्टेजमा पुनरागमन गर्ने भएका छन् । नेपाल चलचित्र विकास कम्पनी(एनएफडीसी)ले आगामी शनिवार राजधानीको आर्मी अफिसर्स क्लबमा आयोजना गर्न लागेको ‘दोस्रो एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार २०७०’मा रमेश अभिनेत्री करिश्मा मानन्धरका साथ स्टेजमा देखिन लागेका हुन् ।

‘मलाई निकै खुशी लागेको छ, लामो समयपछि निकै रमाइलोका साथ नाँच्न पाएको छु,’अवार्डका लागि हाल रिहल्सलमा व्यस्त अभिनेता उप्रेतीले भने,‘नाँच्नका लागि निकै उत्साह बढेको छ र शरीरमा शक्ति पनि प्राप्त भएको अनुभव लिइरहेको छु ।’ आठ वर्ष अघि वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ‘राष्ट्रिय अवार्ड’मा नृत्य गरेका रमेश अर्को वर्ष अमेरिका उडेका थिए । सात वर्षको अमेरिका बसाई पछि केही समयअघि मात्र स्वदेश फर्किएका उनी अवार्ड कार्यक्रममा करिश्मासँग ‘मखमली माया दिउँला’बोलको गीतमा स्टेजमा कम्मर मर्काउनेछन् । आठ वर्ष अघि र अहिलेको कोरियोग्राफीमा निकै भिन्नता पाएका रहेछन् रमेशले । ‘त्यो बेला लोक र मौलिक किसिमका कोरियोग्राफी हुन्थ्यो, विशेषत फिल्मी शैलीका,’रमेशले सम्झिए,‘तर अहिले हिपहप, बी बोइङजस्ता आधुनिक शैलीका गीतका माग बढेको रहेछ, अझ युवापुस्ताको कोरियोग्राफी त तारिफ योग्य नै रहेको छ ।’

Karishma-manandhar-ramesh-upreti (2)अभिनेत्री करिश्माले पनि अवार्डको रिहल्सलबाट आफु सन्तुष्ट रहेको बताईन् । ‘काम निकै राम्रो किसिमले गइरहेको छ,’फिल्मी कोरियोग्राफी प्रति नै लगाव राखेको जनाउँदै करिश्माले भनिन्, ‘म अवार्डमा खासै क्रेजी छैन, बरु फिल्ममा नाँच्न निकै रमाइलो लाग्छ, फिल्मी नृत्य आम दर्शकलाई देखाउन पाइन्छ, तर अवार्डको नृत्य भने सीमित वर्गका लागि मात्र हुन्छ ।’ अवार्डमा आम दर्शकलाई नृत्यबाट मनोरञ्जन दिलाउन चाबहिलस्थित गोपीकृष्ण मुभिजमा एशराज, नम्रता सापकोटा, पवित्रा आचार्य, रिस्ता बस्नेत, केकी अधिकारी, सुस्मा कार्की, दिलिप रायमाझीलगायतका कलाकारहरु रिहल्सलमा व्यस्त छन् । कलाकारहरुलाई कोरियोग्राफर कविराज गहतराजले नृत्य सिकाई रहेका छन् ।

अवार्ड निर्देशक दयाराम पाण्डेले यसपटकको अवार्ड स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ, वरिष्ठ मेकअपम्यान साम्भा दी पाटिल र निर्देशक शिव रेग्मीप्रति समर्पित हुने बताए । ‘उहाँहरुले काम गरेका फिल्मका गीतमा कलाकारहरु नाँच्नेछन्,’पाण्डेले भने,‘अवार्डलाई भव्य र सभ्य बनाउन हामी सक्रिय भइरहेका छौं ।’ पाण्डेका अनुसार कार्यक्रममा २० विधामा अवार्ड प्रदान गरिनेछ । नियमित विधाबाहेक पत्रकारिता, व्यावसायिक फिल्म र जुरी अवार्ड पनि प्रदान गरिनेछ । अवार्डमा सहभागी हुन यसपटक श्रीलंकाका फिल्म निर्माता तथा निर्देशक जीएम सरहथ धर्मसिरी, कार्यकारी निर्माता केसी सारंगा, कार्यक्रम सञ्चालक चतुरा एल्विइस, सुशान्तलाल प्रेमालिथाका र रोडनी भिथानापथी राण नेपाल आउने भएका छन् ।

SUBSCRIBE 👉