
विपना थापा, वर्षा राउत र महेश त्रिपाठी अब ‘बाकस’मा देखिने भएका छन्। बगलामुखी मन्दिरमा शुभमुहूर्त गरिएको फिल्मको छायांकन दशैंलगत्तै सुरु गर्ने तयारी छ।
विपना थापा, वर्षा राउत र महेश त्रिपाठीको अभिनय रहने फिल्म ‘बाकस’को शुभमुहूर्त गरिएको छ। ललितपुरस्थित बगलामुखी मन्दिरमा पूजा गर्दै निर्माण टोलीले फिल्मको औपचारिक सुरुवात गरेको हो। नवीन पन्तको लेखन तथा निर्देशनमा बन्ने फिल्मको छायांकन दशैंलगत्तै सुरु गर्ने तयारी छ।
शुभमुहूर्तमा विपना, वर्षा र महेशसँगै भोलाराज सापकोटा, सुपला सापकोटा, ध्रुव कोइराला, पुष्कर राउत र विक्रम बुढाथोकीलगायत उपस्थित थिए।
फिल्ममा विपना, वर्षा, महेश र भोलाराजसँगै हिउँबाला गौतम, ध्रुव गौतम, पुष्कर राउत, विक्रम बुढाथोकी, रोहित श्रेष्ठ र विमल यादवले अभिनय गर्नेछन्। कलाकार टोलीमा सुपला सापकोटा, सनज चौलागाईं, अविरल चौलागाईं, रेखा भण्डारी र सगुन खड्कालगायत पनि छन्।
पिके इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण हुने ‘बाकस’की निर्माता सुजिता चौलागाईं हुन्। राजन सिंह केसी र छत्रबहादुर खड्का सहनिर्माता तथा धीरेन्द्र पन्त कार्यकारी निर्माता छन्।
फिल्मको छायांकन महेश पौडेलले गर्नेछन्। संगीतमा दीपक शर्मा र सनम पुरुष राई रहनेछन् भने सियोन श्रेष्ठले कोरियोग्राफी गर्नेछन्। द्वन्द्व निर्देशन किरण दाहाल र शृंगार उर्मिला लामाले सम्हाल्नेछन्।
निर्देशन टोलीमा मणि तामाङ मुख्य सहायक निर्देशक छन्। सावन शर्मा, सिर्जना भुजेल र मनिश चौलागाईं सहनिर्देशकका रूपमा जोडिएका छन्।
निर्मल न्यौपाने प्रोडक्सन म्यानेजर रहेको फिल्ममा ज्योति केसी र निराजन घिमिरेले कस्ट्युम डिजाइन गर्नेछन्। पोस्टर डिजाइनको जिम्मा आईडलले लिएको छ।
शुभमुहूर्तसँगै निर्माणको तयारी अघि बढाएको टोलीले दशैंपछि फिल्मलाई छायांकनमा लैजाने जनाएको छ।









