‘मन्डे मुभिज’मा इरानी फिल्ममाथि छलफल


Monday-Moviesग्ल्यामर नेपाल, काठमाडौं । फिल्मबारे छलफल गराउने उद्देश्यले गत सोमबार मण्डला थिएटरमा मन्डे मुभिज नामक कार्यक्रमको आयोजना गरियो । हरेक सोमबार एक फिल्म देखाइने कार्यक्रममा सोमबार इरानी निर्देशक माजिद माजिदीले निर्देशन फिल्म ‘द सङ्ग्स् अफ स्पारो’ प्रर्दशन गरियो ।

९६ मिनेटको फिल्म प्रदर्शनपछि फिल्ममाथि छलफलसमेत भयो । फिल्म समिक्षक यज्ञश, निर्देशक निश्चल बस्नेत र इरानी फिल्ममेकर कोमिइल सोहेइली अन्तरक्रियामा सहभागी थिए । मण्डे मुभिज क्लबले आयोजना गरेको कार्यक्रममा अन्तरक्रिया फिल्मका प्रविधि, कथावस्तु र अभिनयमाथि केन्द्रित थियो । कार्यक्रममा फिल्म समिक्षक यज्ञशले इरानी फिल्ममा बौद्धिक किसिमको दृश्यका भाषाको प्रयोग भएको जानकारी गराए । ‘यस फिल्ममा प्रयोग भएका दृश्य भाषाको माध्यमबाट निर्देशकले हुँदा खाने वर्गको भावना समातेका छन् । उनी बालबालिका केन्द्रित फिल्म बनाउनका माहिर मानिन्छन् । फिल्मको सुरुवातदेखिनै निर्देशकले पात्रहरुमा पोयटिक कन्ट्राडिक्सन गराएका छन् ।’उनले भने ।

त्यस्तै इरानी फिल्ममेकर सोहेइलीले इरानमा विदेशी फिल्महरु हलमा नचल्ने बताए । ‘इरानमा विभिन्न शैलीका फिल्महरु निर्माण भएपनि अन्तर्राष्ट्रियस्तरमा भने इरानी आर्ट फिल्महरु पुग्ने गरेका छन् । अधिकांश इरानी फिल्महरु कविताहरुबाट प्रभावित हुने गरेका छन् । निर्देशक माजिदीले निम्न वर्गका मानिसका कथामा फिल्म बनाउने गरेका छन् ।’उनले भने ।

फिल्म निर्देशक निश्चल बस्नेतले नेपाली फिल्महरुमा कुनै किसिमको विम्बहरु नभेटिने बताए । ‘यस फिल्ममा धेरै विम्बहरु छन् । नेपाली फिल्मको कथाहरुनै राम्रो हुन सकेको छैन् । केही निर्देशकहरुले भने पछिल्लो समयमा नेपाली मौलिकतालाई फिल्ममा समावेश गरिरहेका छन् ।’उनले भने । समिक्षक समाज, मण्डला थियटर नेपाल र इन्डीजिनियस फिल्म आर्काभका सदस्यहरुले संयुक्त रुपमा मण्डे मुभिज क्लबको स्थापना गरेका हुन् ।

SUBSCRIBE 👉