सुदर्शनलाई रेखाको काम नै प्यारो


rekha-thapa-sudarshan-gautamग्ल्यामर नेपाल, काठमाडौं । नेपाली फिल्म क्षेत्रमा पहिलोपटक कलाकारको रुपमा फिल्म ‘हिम्मतवाली’बाट डेब्यु गरेका युवा सुदर्शन गौतम फिल्ममा प्रवेश गरेदेखि नै उक्त फिल्मकी निर्मात्री तथा अभिनेत्री रेखा थापाको नामसँग जोडिए । फिल्म निर्माणको बेला सुटिङस्थलदेखि होस् या निर्माण पछि यसको पब्लिसिटीको समयसम्म यो जोडीको नाम मिडियामा आई नै रह्यो । कहिले रेखाले उनलाई प्रेमीका रुपमा त कहिले असल साथीका रुपमा चित्रण गर्थिन् । फिल्म क्षेत्रका धेरै अगुवाहरुले उनीहरुको यो क्रियाकलापलाई फिल्म प्रमोशनको ‘फण्डा’का रुपमा लिए ।

फिल्मको प्रदर्शनको मिति नजिकिँदै रहँदा उनीहरु अझै पनि आफुलाई असल साथीका रुपमा चित्रण गर्न पछि परेका छैनन् । आगामी फूलपातीबाट रिलिज हुन लागिरहेको फिल्मको निर्देशक स्वयं रेखा नै हुन् । निर्देशक श्याम भट्टराईले यो फिल्मको निर्देशन गरेको साता दिन बित्न नपाउँदै रेखासँग मनमुटाव भएपछि उनले निर्देशन छाडे र सबै काम रेखा आफैले गरिन् ।

बुधबार सञ्चारकर्मीमाझ प्रस्तुत भएका सुदर्शनले रेखाको निर्देशनको तारिफ गर्न पछि परेनन् । ‘पहिलो निर्देशकसँग काम गर्न सहज भएन, फिल्मी संवाद लामा लामा थिए, जसले गर्दा म जस्तो भर्खर अभिनय सिक्दै गरेको मान्छेलाई निकै गाह्रो पर्यो, सुटिङमा केही आशाविहिन पनि बनें,’सुदर्शनले भने,‘तर रेखाले निर्देशनको जिम्मा लिएपछि काम गर्ने नयाँ जाँगर आयो, फिल्मको संवाद ‘क’बाट शुरु भएन भने उनी मलाई ‘ग’बाट सिकाउँथिईन्, मेरा लागि उनी उपयुक्र्त निर्देशन बनिन् ।’ उनले रेखा शतप्रतिशत राम्रो निर्देशक रहेको दाबी गरे । ‘रेखाले निर्देशन गरेपछि कतिखेर फिल्मको सम्पूर्ण सुटिङ सकियो थाहा नै भएन, किनकी उनी आफै कलाकार भएकाले पनि अभिनय सिकाउन उनलाई कुनै समस्या थिएन ।’ सुदर्शनले रेखाको प्रशंसा गर्दै भने ।

उनले रेखालाई ‘हिरो अफ द इयर’ भन्दै बहुमुखी प्रतिभाको धनी भन्न पनि पछि परेनन् । रेखासँगको सम्बन्धको बारेमा सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले आफु र रेखा ‘बेष्ट फ्रेण्ड’मात्र भएको दाबी गरे ।

SUBSCRIBE 👉