‘मेरो जिन्दगी नै च्यालेञ्ज हो’: रेखा थापा


rekha-thapaग्ल्यामर नेपाल, काठमाडौं । आफै कलाकार, निर्माता अनि निर्देशक, त्यो पनि एउटै फिल्ममा । सम्झँदा पनि जोकोहीलाई निकै कठिन र जोखिमपूर्ण काम लाग्छ । आगामी असोज १५ गते अर्थात फूलपातीको दिन अल नेपाल रिलिज हुँदै गरेको फिल्म ‘हिम्मतवाली’की प्रमुख पात्र अभिनेत्री रेखा थापा यी तिनवटै विधालाई एकसाथ लिएर दर्शकमाझ आउँदैछिन् । आफ्नै लगानीमा आफैले एक्सन कट गरेको फिल्ममा आफै अभिनय गर्नु निकै ‘च्यालेञ्ज’को कुरा हो । तर रेखा यसलाई ‘च्यालेञ्ज’ मान्दिनन् ।

‘मेरा लागि हरेक समयका हरेक च्यालेञ्ज हुन्छ, मेरो जिन्दगी नै च्यालेञ्ज हो,’रेखा भन्छिन्,‘फिल्मलाई बनाएर बजारमा ल्याउनुलाई म च्यालेञ्जका रुपमा लिन्न, किनकी बजारमा आउने उत्पादनले नै त्यसको प्रतिफल दिने गर्दछ, त्यसकारण ‘हिम्मतवाली’लाई दर्शकमाझ ल्याउन पाउँदा म आफुलाई च्यालेञ्जका रुपमा लिन्न ।’

विगत १२ वर्षदेखि आफ्नै व्यानर रेखा फिल्मस्मार्फत दर्शकलाई हिट फिल्म दिइसकेकी रेखा ‘हिम्मतवाली’लाई नै सर्वोत्कृष्ठ फिल्मको उपमा दिन्छिन् । ‘समाजले सोच्दै नसोचेको व्यक्तिलाई पर्दामा प्रस्तुत गरेर सामाजिक सन्देश दिने किसिमको फिल्म यसअघि बनाइएको थिएन,’ रेखा दाबी गर्छिन,‘किनकी हाम्रो व्यानरले संघर्ष गर्दै गरेका कलाकारलाई स्टार बनाईदियो, अहिले आएर एउटा असाधारण क्षमता भएको व्यक्तिलाई पर्दामा ल्याउँदैछौं, त्यसकारण पनि यो फिल्मको विशेष महत्व छ ।’

करिब ५० लाखको हाराहारीमा निर्माण भएको ‘हिम्मतवाली’ दर्शकले मनपराउनेमा रेखा ढुक्क छिन् । फिल्मको लगानी उठ्छ या उठ्दैन भन्ने प्रश्नमा रेखा भन्छिन्,‘ मेरा लगानी महत्वपूर्ण कुरा होईन, मैले पैसा कमाउन फिल्म बनाएको पनि होईन् । मलाई अन्य व्यवसायका लागि पनि प्रस्ताव आइरहेको हुन्छ । तर फिल्म क्षेत्रमा नवप्रवेशीले पनि स्थान पाउन् र उनीहरुप्रति आफ्नो दायित्व पुरा गरौं भनेर पनि मैले फिल्म क्षेत्र नछोडेको हुँ । त्यसमाथि हिम्मतवाली सामाजिक सन्देशमूलक फिल्म भएकाले पनि दर्शकले फिल्मलाई माया गर्छन् भन्नेमा म ढुक्क छु ।’

रेखाले मोफसलका हलमा फिल्म रिलिज गराउन वितरकद्वय मनोज राठी र उज्जवल पौडेललाई करिब ४५ लाख रुपैंयाँमा फिल्म बेचिसकेकी छन् । ‘गत वर्ष मेरै फिल्म ‘काली’ले मोफसलमा करोड बढी व्यापार गर्दा पनि मेरो हातमा ३५ लाख जति मात्र आयो । कहाँ चल्यो, कति चल्यो भन्ने कुरा केही पनि थाहा हुन सकेको थिएन,’ रेखाले भनिन्, ‘बरु फिल्म बेच्दा त्यो भन्दा बढी पैसा आइरहेको छ । त्यसकारणले पनि फिल्मलाई रिलिज भन्दा अगाडि नै बेचेकी हुँ ।’ रेखाका अनुसार वितरकले आफ्नो लगानी उठाएपछि आउने अन्य मुनाफा रेखा र वितरकबीच आधा–आधा बाँडिनेछ । यो फिल्म अमेरिका, क्यानाडा, जापानलगायतका स्थानमा पनि रिलिज हुनेछ । फिल्मको उपत्यका वितरण गोपाल कायस्थले गर्दैछन् ।

SUBSCRIBE 👉