कामना फिल्म अवार्ड हुने, पत्रकार सम्मेलनमा नै अवार्डको झल्को


kamana-music-award-press-meet-3ग्ल्यामर नेपाल, काठमाडौँ । तीन दशक लामो यात्रा पार गरी लाखौं पाठकको मन जिन्त सफल हुँदै आएको सफल कामना सिने मासिकले सिजी इन्टरटेनमेन्टको सहकार्यमा कामना फिल्म अवार्ड्सको आयोजना गर्ने भएको छ। विगत लामो समयदेखि कला क्षेत्रकै कलाकर्मी तथा चलचित्रकर्मीहरुले निष्पक्षरुपमा अन्तर्राष्ट्रियस्तरको फिल्मी अवार्ड गर्न दिँदै आएको सुझावलाई मनन गर्दै कामनाले २०७० साल वैशाख १ देखि चैत्र मसान्तसम्म सार्वजनिक प्रदर्शनमा आएका नेपाली चलचित्रलाई सामेल गरी आगामी वर्षबाट अवार्ड कार्यक्रम आरम्भ गर्ने भएको शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो।
kamana-music-award-press-meet-4
कलाकारहरुको सामाजिक प्रतिष्ठा, अन्तर्राष्ट्रिय ख्याति निर्माण एवम् त्यसको श्रीवृद्धि अनि नेपाली चलचित्र क्षेत्रलाई उद्योगको रुपमा स्थापित गर्दै अन्तर्राष्ट्रिय पहिचान दिलाउने उद्देश्यले प्रकाशनमा ल्याइएको कामना सिने मासिकले आयोजना गर्न लागेको कामना फिल्म अवार्डलाई कामनाले समग्र कलाकर्मीको अवार्डको रुपमा सम्पन्न गर्ने दृढता व्यक्त गरेको छ। कलाकर्मीको सम्मानलाई नै आफ्नो सम्मानका रुपमा लिँदै आएको साधना स्वास्थ्य मासिक, नेपाल समाचारपत्र राष्ट्रिय दैनिक र न्यूज अफ नेपाल डट कमसमेत प्रकाशन र सञ्चालन गर्दै आएको कामनाले कलाकर्मीकै निष्पक्ष मूल्यांकन र सम्मानका लागि यो अवार्डको थालनी गर्न लागेको कामनाका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको भनाइ छ। ‘अवार्ड भन्नासाथ निष्पक्षताको कुरा आउने गर्छ, त्यसका लागि हामी सर्वप्रथम अवार्डका हरेक गतिविधिलाई पूर्णरुपमा पारदर्शी बनाउनेछौं। साथै मूल्यांकन प्रक्रियालाई सरल र विवादरहित बनाउनका लागि हरेक विधाको मापदण्ड निर्माण गर्नेछौं’, पत्रकधार सम्मेलनमै अवार्ड समारोहको झल्को दिने कार्यक्रममा भिडियो मार्फत सम्बोधन गर्दै प्रधान सम्पादक श्रेष्ठले भन्नुभयो ‘नेपाली चलचित्र जगत्को गुणात्मक विकास तथा अन्तर्राष्ट्रियरुपमा चलचित्रकर्मीहरुको ख्याति वृद्धि गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको कामना फिल्म अवार्ड्ससँग नेपाली मनोरञ्जन क्षेत्रमा बहुप्रतिष्ठित सिजी इन्टरटेनमेन्टको सहकार्यले अवार्ड अझै स्तरीय हुने अपेक्षा गरेको छु।’
kamana-music-award-press-meet-2
सिजी इन्टरटेनमेन्टका अध्यक्ष तथा उद्योगपति वसन्त चौधरीले कामना फिल्म अवार्ड्ससँग जोडिनु आफ्नो र आफ्नो कम्पनीका लागि गौरवसँगै सुखद पक्ष रहेको बताउनुभयो। ‘कामनाले तीन दशक पूरा गरेको गौरवमय अवसरमा शुरु गर्न लागेको कामना फिल्म अवार्ड्समा सिजी इन्टरटेनमेन्टको सहभागिता मेरा लागि सुखद समाचार हो। हाम्रो सहकार्यले सम्मानजनक यस थालनीलाई थप मजबुत बनाउने विश्वास मैले लिएको छु।’ यो अवार्डको निरन्तरताबारे कसैलाई शंका नगर्न अनुरोध गर्दै उद्द्योगति चौधरी भन्नुहुन्छ– ‘हेर्दै जानुस्, भोलि गएर यो कामना अवार्डको आयोजना नेपाली चलचित्र जगत्कै महाकुम्भमेलाको रुपमा परिणत हुनेछ। निश्पक्षता, पारदर्शीता र उत्कृष्टताले नै यो अवार्ड नेपाली चलचित्र क्षेत्रको महाउत्सव हुनेछ।’
kamana-music-award-press-meet-1
पाँचतारे होटल सोल्टी क्राउन प्लाजामा आयोजित पत्रकार सम्मेलनमा कामना न्यूज पब्लिकेसन्स्का अध्यक्ष पुष्करलाल श्रेष्ठ र सिजी इन्टरटेनमेन्टका अध्यक्ष वसन्त चौधरीले अवार्ड प्रायोजन गर्नेबारेको सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो। उहाँहरुबिच सिजीले आगामी ५ वर्षसम्मका लागि कामना फिल्म अवार्डसँग सहकार्य गर्ने गरी लिखित सम्झौता भएको हो। भिडियो प्रस्तुति मार्फत पत्रकारहरुलाई नौलो किसिमबाट अवार्डको जानकारी दिइएको सो पत्रकार सम्मेलनमा चर्चित कलाकार एवम् कोरियोग्राफर शंकर बिसी र उनका साथीहरुको नृत्य टोलीले नेपाली चलचित्रको इतिहासदेखि वर्तमानसम्मको झल्को दिने आकर्षक नृत्यसमेत प्रस्तुत गरेको थियो। कार्यक्रमको अनौठो र रोचक शैली हेरेर नायिका करिश्मा मानन्धरले कलाकारहरुले गर्नुपर्ने कलात्मक कार्यक्रम पत्रकारहरुले गरेर देखाइदिएको चर्चासमेत गर्नुभयो। त्यसअघि अध्यक्षद्धयले कामना फिल्म अवार्ड्स कार्यक्रमको लोगो अनावरण गर्नुभएको थियो।

सौन्दर्यशाली नायिका करिश्मा मानन्धरद्धारा सरप्राइजका रुपमा सञ्चालित कार्यक्रममा कामनाका सम्पादक तथा कामना फिल्म अवार्ड आयोजक समितीका सदस्य विदुर गिरीले कामना फिल्म अवार्ड्सलाई अवार्ड विजेताहरु मात्र नभई अवार्डबाट वञ्चित हुनेहरुसमेत खुशी रहने गरी अवार्ड सञ्चालन गरिने बताउनुभयो। सम्पादक गिरीले कामना फिल्म अवार्ड चलचित्रकर्मीकै अवार्ड भएकाले सरोकारवाला पक्ष तथा संघ–संस्थासँगको सल्लाह सुझावबाटै अघि बढिरहेको पनि उल्लेख गर्नुभयो। त्यसै गरी पब्लिकेसन्स्का प्रबन्ध सम्पादक तथा प्रमुख कार्यकारी अधिकृत दिरेकलाल श्रेष्ठले अवार्ड कार्यक्रमले पुरानो र नयाँ पुस्ताबीचको खाडल पुर्ने विश्वास व्यक्त गर्नुभयो। हलिउड र बलिउड चलचित्र उद्योग पनि ठूला कर्पोरेट हाउसका कारण माथि जान सकेको उल्लेख गर्दै उहाँले अवार्डमा सहभागिताका लागि नेपाली चलचित्र उद्ध्योगसँग सम्बन्धित सबै सरोकारवालाहरुसँग सहयोगको अपेक्षासहित अनुरोध गर्नुभयो।

कामना फिल्म अवार्ड्सलाई प्रतिस्पर्धाका आधारमा मुख्य अवार्ड, प्राविधिक अवार्ड र अप्रतिस्पर्धीरुपमा सम्मान, क्रिटिक्स एवम् जुरी अवार्ड गरी ५ भागमा विभाजन गरिएको छ। कुल ३१ विधामा प्रदान गरिने अवार्ड समारोहमा एकजना कलाधाकलाई १ लाख रुपियाँ नगदसहित लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिने कामनाका सम्पादक विदुर गिरीले जानकारी गराउनु भयो।

कामना फिल्म अवार्डका विधाहरु:
मुख्य अवार्डहरु
१. सर्वोत्कृष्ट चलचित्र
२. सर्वोत्कृष्ट निर्देशक
३. सर्वोत्कृष्ट अभिनेता
४. सर्वोत्कृष्ट अभिनेत्री
५. सर्वोत्कृष्ट खलपात्र
६. सर्वोत्कृष्ट हास्य कलाकार
७. सर्वोत्कृष्ट सह–अभिनेता
८. सर्वोत्कृष्ट सह–अभिनेत्री
९. सर्वोत्कृष्ट संगीतकार
१०. सर्वोत्कृष्ट गीतकार
११. सर्वोत्कृष्ट पाश्र्व गायक
१२. सर्वोत्कृष्ट पाश्र्व गायिका
१३. सर्वोत्कृष्ट नवनिर्देशक
१४. सर्वोत्कृष्ट नवअभिनेता
१५. सर्वोत्कृष्ट नवअभिनेत्री
१६. सर्वोत्कृष्ट बालकलाकार

प्राविधिक अवार्ड
१. सर्वोत्कृष्ट कथा
२. सर्वोत्कृष्ट पटकथा
३. सर्वोत्कृष्ट संवाद
४. सर्वोत्कृष्ट छायांकन
५. सर्वोत्कृष्ट सम्पादन
६. सर्वोत्कृष्ट नृत्य निर्देशन
७. सर्वोत्कृष्ट ध्वनि मिश्रण
८. सर्वोत्कृष्ट पाश्र्व संगीत
९. सर्वोत्कृष्ट द्धन्द्ध निर्देशन
१०. सर्वोत्कृष्ट शृङ्गार

सम्मान समर्पण
१. एक लाख रुपियाँ नगदसहित लाइफ टाइम अचिभमेन्ट सम्मान

क्रिटिक्स अवार्ड
१. सिजी संगीत क्रिटिक्स अवार्ड
२. सिजी फेशन क्रिटिक्स अवार्ड
३. सिजी नाटक क्रिटिक्स अवार्ड

जुरी अवार्ड
१. जुरी अवार्ड (फिल्म वा कलाकार÷प्राविधिक)

SUBSCRIBE 👉