अभिनयमा करियर खोज्दै काजोल खनाल


kajol-khanal
ल्याब असिस्टेन्टको अध्ययन पूरा गरेर दुई वर्ष ल्याबमै काम गरिसकेकी काजोल खनाल यतिबेला स्वास्थ्य क्षेत्रबाट अभिनय क्षेत्रमा आइपुगेकी छिन् । खनदह, अर्घाखाँचीकी स्थायी बासिन्दा काजोल बुटवलमा बसेर अध्ययन गरेपछि अभिनयमा जम्न यतिबेला काठमाडौंमा छिन् । १८ वर्षीय काजोलले अभिनयमा करियर बनाउने निर्णय गरेको करिब छ महिना मात्र भएको छ। यस अवधिमा उनले करिब एक दर्जन म्युजिक भिडियो, एउटा सर्ट मुभी तथा एउटा चलचित्रमा अभिनय गरिसकेकी छिन्। अञ्जु पन्त, माण्डवी त्रिपाठी, खुमन अधिकारी आदि गायक-गायिकाका गीतका म्युजिक भिडियोमा अभिनय गरेपछि काजोलले कलेज जीवनमा आधारित सर्ट मुभी ‘कलमको बाटो’ तथा दिनेश श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्र ‘कामचोर’ मा नायिकाका रूपमा डेब्यु गरिसकेकी छिन्।

५ फिट १ इन्च अग्ली काजोलले राम्रो अवसर प्राप्त भयो भने चलचित्र क्षेत्रमै सक्रिय भैरहने योजना बनाएकी छिन्। स्कुले जीवनदेखि नै नाच्न र अभिनय गर्न अघि सर्ने काजोल आफ्नै आमा तथा बुबाको प्रेरणाले यो क्षेत्रप्रति आकषिर्त भएको बताउँछिन्। फुर्सदमा नृत्यको अभ्यास गर्न रुचाउने काजोललाई वन पिस तथा टिसर्ट-जिन्स मन पर्ने पहिरन हुन्। विवाहका बारेमा सोच्नै बेलै नभएको बताउने काजोल यौनलाई प्राकृतिक प्रक्रिया मान्छिन्।
– कृष्ण भट्टराई / कान्तिपुर साप्ताहिक
तस्बिर: कमल श्रेष्ठ / ग्ल्यामर नेपाल डट कम

SUBSCRIBE 👉