दर्शकमाझ आउँदै कखरा


Documentry-Photoग्ल्यामर नेपाल, काठमाडौं । विद्यालयमा शिक्षकले दिएको सजायका कारण केही वर्षअघि काठमाडौस्थित एउटा विद्यालयको शौचालयभित्र थुनिएर ज्यान गुमाएका एक प्राथमिक तहका विद्यार्थीको विषयलाई लिएर डकुमेन्ट्री फिल्म ‘कखरा’ निर्माण भएको छ ।

यो डकुमेन्ट्रीको फष्ट लुक र ट्रेलर झापाको दमकमा सञ्चारकर्मीमाझ सार्वजनिक गरिएको छ । डकुमेन्ट्रीका लेखक तथा निर्देशक सञ्चारकर्मी डिकेश लामा हुन् । ‘विभिन्न पुस्तक, पत्रिका, विधुतीय माध्यमबाट प्रसारित सामाग्री, शिक्षा विभागका विभिन्न प्रतिवेदन, शिक्षा सम्बन्धी कार्यरत गैर सरकारी निकायहरुले अनुसन्धान गरेको रिपोर्ट, आलेख तथा शिक्षाविदहरुका अनुसन्धानका विवरणहरुको सहयोग लिएर डकुमेन्ट्री तयार गरिएको हो,’निर्देशक लामाले भने,‘विद्यार्थीमाथि हुने दण्डका कारण आउने अप्रत्याशित नतिजालाई हामीले डकुमेन्ट्रीमार्फत देखाउन खोजका छौ ।’ लामाका अनुसार देशभरका विद्यालयमा डकुमेन्ट्री देखाइनेछ ।

डकुमेन्ट्रीको छायाङ्कन राजधानीकै ठुलो भर्याङ्ग वनस्थलीमा रहेको रीड मोडल र नेपालटारको तरुण उमाविमा गरिएको छ । डकुमेन्ट्रीमा महानायक राजेश हमाल न्यारेटरको रुपमा प्रस्तुत छन् । ८ वर्षे कलाकार सौगात विष्टको मुख्य अभिनय रहेको यस डकुमेन्ट्रीमा सौजन्य सुब्बा, भूपेन चन्द, गजित विष्ट, श्रीकृष्ण न्यौपाने, राधाकृष्ण धिताल र कैलाश पाण्डेको पनि अभिनय छ । गर्वु फिल्मस् प्रा.लि.को व्यानरमा सुर्य गुरुङले निर्माण गरेको डकुमेन्ट्रीमा अनन्त घिमिरेको सम्पादन, सुरेन्द्र भण्डारीको नृत्य र हरि घले लामाको छायांकन रहेको छ । डकुमेन्ट्री ८० मिनेटको रहेको छ ।

SUBSCRIBE 👉