‘मन्डे मुभिज’मा कोरियन फिल्म


Monday-Movieग्ल्यामर नेपाल, काठमाडौं ।
हरेक सोमबार हुने राजधानीको अनामनगरस्थित मण्डला थिएटरमा आयोजना गरिने ‘मन्डे मुभिज’मा कोरियन निर्देशक किमकि दुकले निर्देशन गरेको फिल्म ‘स्प्रिङ समर फल विन्टर एन्ड स्प्रिङ’ प्रर्दशन गर्दै फिल्ममाथि छलफल गरिएको छ ।

एक घण्टा ४३ मिनेटको फिल्म प्रदर्शनपछि फिल्म समिक्षक यज्ञश र ‘बाँसुल्ली’ फिल्म निर्देशक मीनबहादुर भामले फिल्मको विषयवस्तु, प्रविधि निर्देशकीय क्षमता र अभिनयमाथि छलफल गरेका थिए । यो फिल्मले एक भिक्षुको जीवन कथालाई विभिन्न मौसमसँग तुलना गरेर बाल्यकालदेखि वृद्ध अवस्थासम्मको घटनाक्रमलाई प्रस्तुत गरिएको छ । सन् २००३ मा निर्माण भएको फिल्मलाई विभिन्न पाँच भागमा विभाजन गरेर देखाइएको छ । उनको जीवनको विभिन्न अवस्थालाई हरेक मौसमसंग तुलना गरिएको छ । वसन्त, गर्मी, ग्रिस्म, जाडो र बसन्तमा हुने परिवर्तन फिल्ममा समावेश छन् ।

यज्ञशले हरेक महिना अलग शैलीका फिल्म देखाउने उद्देश्यले यसपटक कोरियन फिल्म छनोट गरेको जानकारी गराए । ‘फिल्म हेर्दा फिल्म निर्देशकको कामबारे जानकारी हुन्छ । निर्देशक दुकले धेरै आलोचना कमाएका छन्,’उनले भने । त्यस्तै निर्देशक भामले निर्देशक दुकको फिल्महरुमा महिला चरित्रको भूमिकाहरु दबाइने प्रतिक्रिया दिए । ‘उनले निर्देशन गरेको ‘रियल फ्रिक्सन’ फिल्मबाट चिनेको हुँ । उनी साइको निर्देशक भनेर परिचित छन् । उनको फिल्मको मुख्य पात्रहरुले खासै संवाद बोल्दैनन् । फिल्म भनेको युनिभर्सल हुनुपर्छ भनेर उनका मुख्य पात्रहरु कम बोल्ने गर्छन् लाटोचाँहि होइन,’उनले भने ।

समिक्षक समाज, मण्डला थियटर नेपाल र इन्डीजिनियस फिल्म आर्काभका सदस्यहरुले संयुक्त रुपमा मण्डे मुभिज क्लबको स्थापना गरेका हुन् । यसलाई स्मृति ढुंगाना, ईश्वर रौनियार, बाल्मीकि पोखरेल, अर्जुन कार्की र संगम पुलामी मगरको टिमले संञ्चालन गरिरहेका छन् ।

SUBSCRIBE 👉