प्रचारप्रसारमा अनुदार हुँदै केकी


keki-adhikariग्ल्यामर नेपाल, काठमाडौं।
फिल्म पाउन मरिहत्ते गर्ने, सुटिङमा पनि समय दिने तर प्रमोशनका बेला वेवास्ता गर्ने कलाकारको नेपाली सिने उद्योगको बाहुल्यता छ। तर केकी अधिकारी यो कोटीकी हिरोइन होइनन्। सुटिङ सुरु भएदेखी रिलिज नभइन्जेलसम्म निर्माण पक्षलाई दुख नदिने अभिनेत्रीको छवि बनाएकी छिन् उनले। तर पछिल्लो समय उनको यो व्यावसायिक छवि धुमिलिएको छ। उनले पनि प्रचारप्रसारमा साथ नदिएको तीतो आरोप खेप्नु परेको छ।

‘ठूलो मान्छे’ र ‘मुटु’ निर्माण पक्षले सार्वजनिक रुपमा केकीले प्रमोशनमा वेवास्ता गरेको आरोप लगाएका थिए। हुन पनि यी फिल्मका प्रमोशनमा उनले मन र समय दिएको थिइनन्। दुवै फिल्म फ्लप भए। पछिल्लो फिल्म ‘श्री ५ अम्बरे’को प्रमोशनमा पनि उनको खासै सक्रियता देखिएन। निर्माण पक्षले प्रत्यक्षरुपमा असन्तुष्टी जनाएको थियो।

१८ पौषमा रिलिज हुने ‘माई प्रमिस’को निर्माण पक्षबाट पनि यस्तै गुनासो सुनिएको छ। उनी हाल ‘हाउ फन्नी’को सुटिङमा व्यस्त छिन्। त्यसैले उनले चाहेर पनि ‘माई प्रमिस’को प्रमोशनमा साथ दिन सकेकी छैनन्। सँगै पटक – पटक रिलिज मिति सरेका कारण यो फिल्म उनको प्राथमिकतामा नपरेको हुनसक्छ। यो फिल्मको सुटिङ सकिएको झण्डै तीन वर्ष बितिसकेको छ। आशा गरौं, कारण जे भए पनि प्रमोशनमा वेवास्ता गर्दा करिअरमै असर पर्ने तीतो यथार्थ केकीले भुलेकी छैनन्।

SUBSCRIBE 👉