ग्ल्यामर नेपाल,काठमाडौं ।
अघिल्लो वर्षको अन्त्यमा रिलिज भएको ‘नाई नभन्नु ल २’ मा जीवन लुईटेलको मुख्य भूमिका थिएन। केमियो रोलमा सिमित थिए। र, पनि फिल्म व्यावसायिकरुपमा सफल भयो। त्यसैले यो वर्ष उनका लागि सुखद रहने अपेक्षा गरिएको थियो। तीन फिल्म रिलिजको पाइपलाइनमा रहेकाले मिडिया र फिल्मवृत्तमा वर्षको सुरुवातबाटै उनी चर्चाको केन्द्रमा थिए तर तीनै फिल्म भटाभट असफल भएपछि जीवन ओझेलमा परेका छन्।
साउन अन्तिम साता रिलिज भएको ‘शीशा’ले जीवनको फ्लप यात्राको ढोका खोलेको थियो। यो फिल्मले न पैसा कमायो, न प्रसंशा। ‘शीशा’को फ्लप यात्रालाई ‘ठूली’ र ‘स्टुपीड मन’ले ब्रेक गर्न सकेनन्। व्यापार मात्र होइन्, उनकै अभिनयले पनि दर्शकलाई निराश तुलायो। बरु राम्रो ब्यानरका फिल्म छानेर गर्न नसकेको आरोप लाग्यो। त्यसमाथि अनमोल केसी, खगेन्द्र लामिछानेजस्ता पछिल्लो छिमलका हिरोको चेपुवामा परे।
यसबीचमा आयोजना गरिएका आधा दर्जन अवार्डमा पनि उनको पकड देखिएन्। ‘नाई नभन्नु ल ३’ मा उनलाई आर्यन सिग्देलले रिप्लेस गरे। सोही कारण मिडिया र फिल्मवृत्त दुवैमा उनको चर्चा सेलाएको छ। रिलिजका क्रममा रहेका ‘काफल पाक्यो’ र ‘धुन’ले धर्मरिएको जीवनको करिअरलाई ढाडस देला त ? हेर्न बाँकी छ।
