श्रीकृष्णको सम्मानमा मलेसियामा कोहिनूर


Kohinoor-Filmसुमन वैरागी, मलेसिया ।
स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठद्वारा अभिनित फिल्म ‘कोहिनूर’ आउँदो फेब्रुअरीको ८ तारिखदेखि २२ तारिखसम्म मलेसियाको क्वालालम्पुर र जोहोरबारू लगायतका स्थानमा प्रदर्शन गरिने भएको छ । एनएमसी युनिभर्सल, नेपाल ट्रेडिङ र एमएसले फिल्म प्रदर्शनको जिम्मा लिएका हुन् भने हटलिङ्कले फिल्मको प्रायोजन गरेको छ ।

फेब्रुअरी ८ मा केएलसीसीको टीजीभी सिनेमा हलमा भिआइपी शो गरेर फिल्मको मलेसिया प्रदर्शन सुरुवात गरिने एनएमसी युनिभर्सलका डाइरेक्टर नितुप ग्याल्जेन लामाले बताए । त्यसपछि १९ फेब्रुअरीदेखि २२ सम्म क्वालालम्पुरको केएलसीसी ट्विन टावरमा रहेको टीजीभी सिनेमा हल, जोहोरबारुको क्याथे सिनेप्लेक्स सिटी स्क्वायर, बातुपहात जोहोरको ल्याण्डमार्क होटल, कलाङको सेन्टरप्वाइन्टमा रहेको लोटस फाइभ स्टार, सुवाङजयास्थित जीएससी सिनेमा हलमा कोहिनूरको प्रदर्शन गरिनेछ ।

नेपाल ट्रेडिङका जयराम तिमिल्सिनाले फिल्म निर्माण अघि नै अभिनेता श्रीकृष्णलाई आफुहरुले मलेशियामा फिल्म प्रदर्शन गर्ने बचन दिएकाले उनलाई दिएको वचन र उनीप्रतिको सम्मानमा मात्र फिल्म मलेसियामा प्रदर्शन गर्न लागिएको जनाए । आकाश अधिकारी निर्देशित फिल्ममा श्रीकृष्णको साथमा श्वेता खड्काको मुख्य भूमिका छ । शंकर श्रेष्ठ, चन्द्रप्रसाद श्रेष्ठ, शम्भू श्रेष्ठ र श्वेता खड्काको संयुक्त निर्माणमा तयार भएको फिल्मले एउटा नेपाली चेलीलाई भारतमा बेचिए पछिका विभिन्न घटना परिघटनाहरुलाई पर्दामा उतारिएको छ ।

फिल्म प्रदर्शन अभियानलाई आइपी धनकुटे एसडीएन बीएचडी, दर्शन नमस्ते रेष्टुरेन्ट, द गोर्खा रेष्टुरेन्ट, पर्वत कास्की रेष्टुरेन्ट, आरके स्टोर एसडीएन बीएचडी, मालिङ्गो रेष्टुरेन्ट, ग्रीनल्याण्ड रेष्टुरेन्टलगायतले सहकार्य गरेका छन् ।

SUBSCRIBE 👉