ग्ल्यामर नेपाल, काठमाडौं ।
नेपालमा पछिल्लो समयमा सस्पेन्स थ्रिलर शैलीको फिल्म बन्ने क्रम बढ्दै गएको छ । यसै क्रमलाई निरन्तरता दिँदै नेट जी इन्टरटेनमेन्टले यस्तै शैलीको ‘म्याड हाउस’ नामक फिल्म निर्माण गर्ने भएको छ । विप्लव आचार्यको निर्माण तथा प्रस्तुतिमा बन्ने फिल्ममा समर निरौलाको निर्देशन रहनेछ । फिल्मको मंगलबार राजधानीको डिल्लीबजारस्थित कालिकास्थान मन्दिरमा मुहुर्त गरिएको छ ।
निर्देशक निरौलाका अनुसार जर्मन नाटक म्याडहाउसबाट प्रभावित भएर फिल्म निर्माण गरिनेछ । ‘फिल्मले राजनीति र द्वन्द्वपछिको अवस्थालाई पनि प्रस्तुत गर्नेछ ।’ निरौलाले भने । फिल्ममा सौगात मल्ल, निशा जोशी, राम केएसी, टिका जिरेल, श्याम खड्का लगायतको अभिनय रहेको छ । फिल्म युनिटले नाकमा रातो टिका लगाई मुहुर्त गरेको थियो ।
फिल्ममा सौगातले रंगमञ्चको कलाकार बन्ने चाहनालाई प्रस्तुत गर्नेछन् भने निशाले उनको साथीको भूमिकामा अभिनय गर्नेछिन् । काठमाडौंमा नै खिचिने फिल्मको छायांकन फागुन २९बाट शुरु हुनेछ ।
