कुन देशकी चरी हौ तिमि… गायक हिक्मत रहेनन्


काठमाडौं । चर्चित गीत ‘कुन देशकी चरी हौ तिमी’ का गायक एवं व्यवसायी हिक्मत मालीको ६२ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ । क्यान्सरबाट पीडित मालीको चाबहिलस्थित ओम अस्पतालमा निधन भएको हो ।
Hikmat-mali२०४० सालमा रेडियो नेपालमा बजेको यो गीतमा डा. कृष्णहरि बरालको शब्द र स्वर्गीय राम थापाको संगीत रहेको छ । गीतकार बरालका अनुसार मालीले उनका ‘कुन देशकी’ सहित ‘बाह«ै महिना बसन्तले छोए पनि’ र ‘तिम्रो प्रेमको बिम्ब भित्र म यसै हराई सकेको छु’ बोलका गीत गाएका थिए । ‘उहाँले रेडियो नेपालमा भ्वाईस टेष्ट गराउँदै मेरै गीतबाट गराउनु भएको थियो,’ गीतकार बरालले सम्झिए, ‘उहाँ पेट्रोल व्यावसायी भए पनि संगीतमा निकै रुची थियो ।’ ‘बाह«ै महिना बसन्त’मा द्वारिका लाल र ‘तिम्रो प्रेमको बिम्ब’मा ज्ञानबहादुरको संगीत रहेको छ ।

बरालका अनुसार उनले करिब २० वटा जति नेपाली गीतमा स्वर दिएका थिए । ‘उहाँ मोहम्मद रफीको ठूलो फ्यान हुनुहुन्थ्यो,’बरालले भने, ‘त्यसकारण पनि आफ्नो कार्यालयमा उहाँले रफीको ठूलो तस्वीर राख्नुभएको थियो ।’ मालीले ‘मेजु’, ‘भिगा बहनी’लगायतका नेवारी गीतमा स्वर पनि दिएका थिए ।

गायक प्रेमध्वज प्रधानलाई नेपालका ‘रफी’ मान्ने माली उनका पिता पनि गायनमा सौखिन भएकै कारणले संगीतमा उनलाई सजिलो भएको थियो । उनी बुवासँगै रेडियो नेपालमा भ्वाईस टेष्ट दिन गएका थिए। मधु क्षत्री र उदित नारायण झा उनका समवयी गायक हुन् ।

हिक्मत ‘ग्रिन स्लिभ्स’ ब्यान्डको पाँच सदस्यीय टोलीमा भोकलिष्ट थिए । सेन्ट जेभियर्समा पढेका कारण उनीहरुले व्याण्डको नाम अंग्रेजीमा राखेको उनी निकट संगीतकर्मीको बुझाई छ। सानै उमेरदेखि हिक्मत भजनमा कोरस गाउँथे । उनले ड्रिम्ज’ नामक आफ्नै रेकर्डिङ स्टुडियो पनि खोलेका थिए।

SUBSCRIBE 👉