कोरियन फिल्म ‘हिमालय’मा गम्भीरमान


Gambhir Shresthaकाठमाडौं । कोरियामा बस्दै आएका युवा गम्भीरमान श्रेष्ठ हाल कोरियन फिल्म ‘हिमालय’मा व्यस्त छन् । आधा दर्जन कोरियन फिल्म र ड्रामामा अभिनय गरिसकेका श्रेष्ठले अभिनयमार्फत लामो समयदेखि कोरियन दर्शक, सेलिब्रेटी– बीचमा नेपाली समाज, कला, साहित्य र संस्कृति चिनाउने पुलको कामसमेत गर्दै आएका छन् ।

कान्तिपुर दैनिकका दक्षिण कोरिया संवाददाता देवेन्द्र सम्बाहाम्फेका अनुसार श्रेष्ठ यसबेला फिल्मको सुटिङमा छन् । कोरियन पर्वतारोही अम होङ गिलको जीवनकथामा आधारित फिल्मको कोरियाको विभिन्न स्थानमा धमाधम छायांकन भइरहेको छ, नेपालमा भने यसको छायांकन सकाएर श्रेष्ठ कोरिया फिरिसकेका छन् ।

फिल्ममा श्रेष्ठ शेर्पाको भूमिकामा छन् । ७५ करोड रुपैयाँको लगानीमा बन्दै गरेको फिल्ममा ३० प्रतिशत दृश्य नेपालको हिमाली क्षेत्रको छ । फिल्मका निर्देशक ली सख हुन हुन् ।
‘यो फिल्ममा उत्कृष्ट कलाकार, लेखक र निर्देशकसँग काम गर्ने मौका पाएँ,’ उनले भनेका छन्, ‘यसलाई मैले जीवनको महत्त्वपूर्ण उपलब्धि सम्झेको छु ।’

कोरियन टीभी र रेडियोमा कार्यक्रम चलाउँदा चलाउँदै अभिनय सुरु गरेका गम्भीरमानले सन् २०१० मा ‘फान्गा फान्गा’ नामक फिल्ममा पहिलोपटक अभिनय गर्ने मौका पाएका थिए । युक साङ ह्योको निर्देशनमा बनेको फिल्मले कोरियामा रहेका प्रवासी मजदुरहरुको दुःखकष्टलाई समेटेको छ । यसमा उनले मजदुर नेताको भूमिका गरेका छन् ।

यो फिल्म पछि उनले ‘बनाना सेक’ मा अभिनय गरे भने सन् २०११ मा ‘सिसानामा’ मा अभिनयको मौका जु¥यो । युन सङ ह्यनले निर्देशन गरेको यस फिल्मले बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा अवार्डसमेत पाएको थियो ।

SUBSCRIBE 👉