१५ वर्षपछि केशवको हिरो बने रमेश
काठमाडौं । १५ वर्ष अघि निर्माता केशव भट्टराईको लगानीमा निर्माण भएको फिल्म ‘आफ्नो मान्छे’मा नायकको रुपमा अनुबन्ध भएर पनि काम गर्न नपाएका अभिनेता रमेश उप्रेती नौ वर्ष पछि पुनः उनकै फिल्म ‘ब्रासलेट’मार्फत नायकका रुपमा पुनरागमन गर्दैछन् । रमेशसँग काम गर्ने मौखिक सहमति भए पनि सुटिङको अघिल्लो दिन अर्को फिल्म ‘यो मायाको सागर’मा रमेश व्यस्त भएपछि केशवले दिलीप रायमाझीलाई लिएका थिए ।
‘चकलेट’का निर्देशक निर्मल शर्माले निर्देशन गर्न लागेको फिल्म ‘ब्रासलेट’मा रमेशले नायिका रजनी केसीसँग रोमान्स गर्नेछन्। विभिन्न म्युजिक भिडियोमा अभिनय गरेकी रजनीले छविराज ओझाको फिल्म ‘लोफर’बाट रजतपटमा डेब्यु गरेकी हुन् । ‘चकलेट’ रिलिजको तयारीमा छ ।
१५ वर्षअघि सँगै काम गर्न नपाएको पीडा ‘ब्रासलेट’मा आएर पुरा गर्न पाएकोमा रमेशले खुशी व्यक्त गरे । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आफु पुनः पहिलेकै जस्तो रमेश उप्रेती भएर दर्शकमाझ आउन लागेको खुलाए ।
कोटकी कालिकादेवी फिल्मस् प्रालिको व्यानरमा निर्माण हुन लागेको फिल्ममा रमेश उप्रेती, रजनी केसी, नम्रता सापकोटा, ऋतिक शाही, सुगम शर्मा, सुनिता ठाकुर, विनोद भट्टराई र राजु बजाजलगायतको अभिनय रहनेछ । ऋतिक, सुगम र सुनिताको यो डेब्यु फिल्म हुनेछ ।
फिल्ममा जया ओझाको लेखन, ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, शान्तिप्रियको गीत, कविराज गहतराज र गोविन्द राईको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व र सुदिप बरालको छायांकन हुनेछ । फिल्म चैत्र २७ गतेदेखि सुटिङका लागि फ्लोरमा जानेछ ।
केशवले यसअघि पाहुना, कर्मयोद्धा, देवरबाबु, छोडीगए पाप लाग्ला र सो सिम्पल फिल्म बनाएका थिए ।