मोडल / फेशन डिजाइनर क्षितिजा शाक्यको ‘प्रेग्नेन्सी फोटोसुट’


क्षितिजा शाक्यलाई अघिल्लो पटक गर्भवती हुँदा नै ‘प्रेग्नेन्सी फोटोसुट’ गर्ने रहर थियो। त्यतिबेलाको समाजमा त्यो कुरा अस्वीकार्य हुन्छ भन्ने डरले उनले आफ्नो रहरलाई दबाएर राखिन्। तेह्र वर्षअघिको त्यो रहर उनले अहिले आएर पूरा गरेकी छिन्। छोरी तेह्र वर्षकी भैसकेपछि अहिले उनी दोस्रो पटक गर्भवती भएकी हुन् । यही असार २० गते चिकित्सकले उनको सन्तान जन्मने डेट दिइसकेका छन्।

चैत महिनामै ग्ल्यामर तथा विज्ञापन फोटोग्राफर सञ्जय रौनियारसँग उनले ‘मुर शैली’मा प्रोफेसनल तस्बिर खिचाइन्, जतिबेला उनी सात महिनाकी गर्भवती थिइन् । हलिउड अभिनेत्री डेमी मुरले सन् १९९१ मा भेनिटी फेयर पत्रिकाको आवरणका लागि ‘प्रेग्नेन्सी फोटोसुट’ गराएकी थिइन् । मुर उक्त फोटोसुटका लागि आफू पूर्ण रूपमा नग्न भएकी थिइन् । सन् १९९१ पछि जति पनि ‘प्रेग्नेन्सी फोटोसुट’ भए सबै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अभिनेत्री मुरबाट प्रभावित छन् भनिन्छ, तर नेपाली चलचित्रकी नायिका, मोडल तथा फेसन डिजाइनर क्षितिजा शाक्यले भने फोटोसुटमा आफ्नो उक्सिएको पेट (गर्भ रहेको पेट) मात्र देखाएकी छिन् । ‘नग्न फोटो खिचाउनु हाम्रो संस्कारभित्र पर्दैन । मेरो इच्छा मात्र प्रेग्नेन्सी फोटोसुट गर्ने थियो, मुरले जसरी नग्न भएर होइन,’ –क्षितिजाले भनिन्।

क्षितिजालाई चैत महिनामै आफ्नो ‘प्रेग्नेन्सी फोटोसुट’को तस्बिर प्रकाशित गर्ने चाहना थियो, तर व्यस्तताका कारण फोटो खिचे पनि ती तस्बिर उनकै ल्यापटपमा रहे। ‘अहिले आएर लोकप्रिय पत्रिका साप्ताहिकमार्फत यी तस्बिर सार्वजनिक गर्ने रहर जाग्यो।’ उनले भनिन् ।

किन रहर जाग्यो त अहिले ? रहरको कारण खुलाउँदै क्षितिजाले भनिन्– ‘भूकम्प जाँदा म घरको छैटांै तलामा थिएँ । भूकम्प गएपछि सामान्य अवस्थाका मानिसहरू दौडेर घरको तल सुरक्षित खुला स्थानमा जान सहज हुन्छ, तर गर्भवस्थामा रहेका महिलाहरू त्यस्तो परिस्थितिमा न त दौडन सक्छन् न त आफूलाई सुरक्षित तुल्याउन नै । भूकम्पपछिको अर्को समस्या मन अत्यधिक आत्तिनु हो । त्यसरी धेरै आत्तिदाँ गर्भको शिशुमा त्यसको असर पर्छ र गर्भ नै तुहिने डर हुन्छ । मैले १२ गतेको भूकम्पपछि धेरै महिलाको गर्भपतन भयो भन्ने पनि सुने । मलाई पनि त्यसको डर थियो । आठ महिनाको गर्भावस्थामा त्यस्तो हुँदा मेरो आफ्नै ज्यानको खतरा पनि हुन्थ्यो । सबै डराइरहेको र त्रासमा रहेका बेला म पनि नडराउने कुरै भएन । ममा पनि अब के होला ? भन्ने त्रास थियो । विशेषगरी मलाई मेरो गर्भमा हुर्किरहेको शिशुको बढी चिन्ता भयो । भूकम्पले उसमा कस्तो असर पऱ्यो होला भन्ने चिन्ता भयो । परिवार, साथीभाइ तथा श्रीमान्को सहयोग एवं सल्लाहका कारण मैले आफुलाई सम्हाल्न सके पनि गर्भमा रहेको मेरो शिशुका सम्बन्धमा बुझ्नु आवश्यक थियो । मैले डाक्टर ज्योति अग्रवालसँग सम्पर्क गरे । उहाँले शिशुको अवस्था बुझ्न अल्ट्रासाउन्ड गराउनुभयो । धन्य, भगवान्को कृपाले मेरो शिशु सुरक्षित रहेछ । त्यसको कारण पनि डाक्टरले भन्नुभयो– तपाईं धेरै अत्तालिनुभएन, त्यसैले शिशुको अवस्था राम्रो छ । त्रासका कारण हरेस खाइयो भने गर्भमा रहेको शिशुमा त्यसको असर पुग्छ र गर्भपतन हुने डर हुन्छ ।’

गर्भावस्थामा हुँदा आमाको शिशुप्रति गहन जिम्मेवारी हुन्छ । आमाका हरेक क्रियाकलाप तथा खानपिनको असर शिशुमा परिरहेको हुन्छ । यो कुरा हाम्रा धर्मशास्त्रहरूमा पनि उल्लेख छ । त्यसैले त शिशु गर्भमा आएदेखि आमालाई असल कुरा मात्र सुनाउनु–देखाउनु भनिन्छ । त्यो बेला आत्तिए, डराए शिशुमा त्यसको नकारात्मक असर पर्छ र जन्मिसकेपछि पनि वर्षांैसम्म त्यसको असर उसमा कायम रहन सक्छ । भूकम्प, बाढी, पहिरो, चट्याङ आदि प्राकृतिक प्रकोप हुन् । पृथ्वी एक जीवित ग्रह भएकाले यहाँ प्राकृतिक प्रकोपका कारण बेला बखत उथलपुथल भैरहन्छ । त्यसैले प्राकृतिक प्रकोपबाट जोगिन त्यही प्रकारले सुरक्षित भएर बस्नुपर्छ । विशेषगरी गर्भवती महिलाले शिशुप्रतिको जिम्मेवारी बहन गर्दै आफूलाई जहाँ सुरक्षित र सहज महसुस हुन्छ तथा जे गर्दा सजिलो लाग्छ त्यही गर्नुपर्छ । त्यसका लागि परिवार, साथीभाइ तथा श्रीमान्को सहयोग पनि चाहिन्छ। यस्तै सन्देश प्रवाह गर्न मैले मेरो ‘प्रेग्नेन्सी फोटोसुट’का तस्बिर सार्वजनिक गर्न चाहेकी हुँ —क्षितिजाले स्पष्ट पारिन्।

क्षितिजाका बारेमा
सयौं ग्ल्यामरस तस्बिर खिचाइसकेकी क्षितिजा शाक्य पेसाले फेसन डिजाइनर पनि हुन् । उनी चलचित्रमा अभिनय र मोडलिङमा पनि सक्रिय छिन् । १६ वर्ष जतिअघि उनको युवा व्यवसायी विनोद शाक्यसँग प्रेम विवाह भएको थियो, जति बेला क्षितिजा मोडलिङमा जम्न संघर्ष गर्दै थिइन् । विवाहपछि उनले श्रीमान्को साथ पाएर दर्जनौं मोडलिङ शो गरिन् । सन् १९९६ मा आयोजित दसैं उत्सवमा क्षितिजाले बेस्ट मोडलको एवार्ड जितिन् । त्यसपछि उनका लागि मोडलिङको ढोका खुल्यो । ५० भन्दा बढी फेसन शोमा र्‍याम्प सो गरिसकेकी क्षितिजाको पहिलो म्युजिक भिडियो गायक नवीन के. भट्टराईको थियो । दर्जनौं म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी क्षितिजाले १८ वर्षअघि चलचित्र ‘घामछायाँ’बाट चलचित्र उद्योगमा पदार्पण गरेकी हुन् । त्यसपछि उनले एक दर्जनजति चलचित्रमा अभिनय गरिसकेकी छिन् । फेसन डिजाइनिङमा स्नातक गरेपछि भने उनी फेसन डिजाइनिङमै रमाउन थालिन् । न्युरोडमा क्षितिजा क्रिएसन डिजाइनिङ बुटिक सञ्चालन गरिरहेकी क्षितिजाको अबको लक्ष्य सफल फेसन डिजाइनर बन्नु हो ।

‘प्रेग्नेन्सी फोटोसुट’ का बारेमा गरिएको कुराकानी:

प्रेग्नेन्सी फोटोसुट गर्ने आइडिया कहाँबाट आयो ?
१३ वर्षअघि नै म पहिलो पटक गर्भवती हुँदा विदेशतिर प्रेग्नेन्सी फोटोसुट गर्छन् भन्ने सुनेकी थिएँ । त्यतिबेला नै मलाई त्यसरी तस्बिर खिच्ने धोको थियो । समाजले केही भन्ला कि भन्ने डरले मैले रहर मारेर बसें ।

अहिलेचाहिँ समाजको डर छैन ?
समाजले कतिसम्म पचाउन सक्छ भन्ने सोच नराखी समाजलाई यतिसम्म मात्र दिनुपर्छ भन्ने विचार राख्ने मेरो पुरानो बानी हो । प्रेग्नेन्सी फोटोसुट गरेर मैले नारीले मात्र आफ्नो जीवनमा पाउने यो सुखलाई गर्वका साथ सेयर गरेकी हुँ ।

तैपनि तस्बिर खिचाइसकेपछि केही समय त थन्क्याउनुभएछ ?
वैशाखमै कुनै विशेष कारणका लागि ती तस्बिर सार्वजनिक गर्थें होला । अवसर खोजिरहेकी थिएँ । भूकम्पका कारण त्यतिबेला ती तस्बिर कतै सार्वजनिक गर्न सकिन । अहिले भूकम्पपछि धेरै गर्भवती महिलाहरू आत्तिएर उनीहरूको पेटमा रहेको शिशुलाई असर पर्दैछ भन्ने सुने । कतिपयको त त्रासका कारण गर्भ नै तुहिएछ । त्यसपछि साप्ताहिकको साथ पाएर मेरा प्रेग्नेन्सी फोटोसुटका तस्बिरहरू सार्वजनिक गर्दै गर्भमा शिशु आएपछि आमाको ऊप्रतिको जिम्मेवारी आरम्भ हुन्छ, त्यसैले उसलाई हानी पुग्ने कार्य नगर्न र नगराउन सचेत गराउँदै यसलाई सार्वजनिक गरेकी हुँ ।

आफैं गर्भवती हुनुहुन्छ, अनि कसरी सन्देश प्रवाह गर्न सक्नुहुन्छ ?
सुरक्षित मातृत्व आजको आवश्यकता हो । गर्भस्थ शिशु र आमाको सुरक्षाका लागि लोकप्रिय पत्रिकामार्फत प्रेग्नेन्सी फोटोसुटका तस्बिरसहित समाजलाई अनुरोध त गर्न सकिन्छ नि । म यो लोकप्रिय पत्रिकामार्फत समस्त गर्भवती तथा गर्भाधारण गर्न चाहने महिलाहरूसँग अनुरोध गर्छु कि आमा बन्नु संसारकै सबैभन्दा महान् कार्य हो, जुन सौभाग्य महिलाहरूले मात्र प्राप्त गर्छन् । त्यस्तो बेला आमाले आफ्नो मनलाई संयमित राख्नुपर्छ । सकेसम्म मनलाई खुसी राख्नुपर्छ । म दोस्रो पटक गर्भवती भएकी हुँ । पहिलो पटक गर्भवती हुँदा ममा सम्भवत: यति परिपक्वता आइसकेको थिएन, तर घर र माइतीको सहयोगकै कारण मैले कुशलपूर्वक छोरीलाई जन्म दिएँ । अहिले छोरी १३ वर्षकी भैसकेकी छिन् । १३ वर्षपछि अर्को एक सन्तानको आवश्यकता महसुस भयो । प्लान गरेरै अहिले म गर्भवती भएकी हुँ । यसबीच भूकम्पजस्तो डरलाग्दो अवस्थाबाट गुज्रनुपर्‍यो । त्यतिबेला म केही समयका लागि अत्तालिए, तर पछि गर्भमा रहेको अबोध शिशुका लागि सम्हालिएँ । मनलाई कन्ट्रोल गर्न सकिने रहेछ । म यही सन्देश सबैमा प्रवाह गर्न चाहन्छु ।

फोटोसुटका लागि श्रीमान् तथा परिवारका अन्य सदस्यहरूको अनुमति थियो ?
म आफ्नो मर्जीको मालिक आफैं हुँ । जीवनमा चाहेको काम गर्न पाउनुपर्छ । नचाहिने र अवैधानिक कार्य गर्नु हुँदैन, तर समाजमा राम्रो सन्देश जाने किसिमको कार्यका लागि मलाई सबैले साथ दिनुभएको छ । फेरि मैले खिचाएका तस्बिर कुनै पनि दृष्टिकोणबाट भल्गर वा अनुचित छैनन्।
– सुब्रत आचार्य / कान्तिपुर साप्ताहिक

SUBSCRIBE 👉