‘आधी बाटो’ असफल भए निर्माणबाट हात धुने निर्माताको घोषणा


anu-shah-and-sabin-shrestha

Sabin Shrestha and Anu Shah

ग्ल्यामर नेपाल, काठमाडौं । ‘आधी बाटो’का निर्माता रमेश त्वायनाले आफ्नो नयाँ चलचित्र ‘आधी बाटो’ असफल भए निमार्णबाट हात धुने घोषणा गरेका छन्। राजधानीमा आयोजना गरिएको ‘आधी बाटो’को प्रेसमिटमा एनआरएन निर्माता त्वायनाले यस्तो घोषणा गरेका हुन्। उनले यसअघि ‘हाँसी देउ एक फेर’ नामक सिनेमा बनाएर लाखौं घाटा बेहोरेका थिए। तर त्यसअगाडि उनले बनाएका ‘हामी तीन भाई’ र ‘भरोसा’ले भने लगानी रिकभर गरेको थियो।

कार्यक्रममा त्वायनाले ‘हाँसी देउ एक फेर’ नचलेपनि आफ्नो सक्रियता निरन्तर देखियोस् भनेर पुन: फिल्म बनाएको तर अब यो पनि नचले फिल्म निर्माणबाट टाढा हुनुको विकल्प नभएको पीडा पोखेका हुन्। कतिसम्म भने उनले फिल्ममा लगानी गर्नु मुर्खता भएकोसमेत बताए। यद्यपी उनले ‘आधी बाटो’ निकै राम्रो बनेकोले आफ्नो लगानी नडुब्ने विश्वास व्यक्त गरे। उता, निर्देशक सविर श्रेष्ठले पनि फिल्ममा कालिञ्चोकको डाँडादेखि लण्डनको रमझमसम्मको कथालाई समेटिएकोले असफल हुने सम्भावना नै नरहेको बताए।

‘आधी बाटो’को अडियो तथा भिडियो रिलिज गरिएको कार्यक्रममा संगीकार सुरेश अधिकारीले दर्शकश्रौताको मन जित्ने गीत संगीत तयार पारेको जानकारी दिए। फिल्मको सफलतामा गीतसंगीत पनि सहायकसिद्ध हुने उनको विश्वास छ। प्रेसमिटमा फिल्मका दुई मुख्य कलाकार अनु शाह र सविन श्रेष्ठ अनुपस्थित थिए। निर्देशक सविरले ‘सविन आउँदैछन्’ भन्दाभन्दै कार्यक्रम सकिएको थियो तर अन्य दुई कलाकार जेनिशा केसी र यशकुमारको भने उपस्थिती थियो। अडियो विमोचनमा दुवैको सक्रियता हेर्नलायक थियो। नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष शान्तिप्रियलगायतले फिल्मको सफलताको शुभकामना दिएका थिए।

स्वर्गिय निर्देशक शिव रेग्मीको सम्मानमा ‘आधी बाटो’ चैत्र २८ गतेबाट चैत्र २१ गतेका लागि सारिएको निर्माण पक्षले जानकारी दिएको थियो। चैत्र २८ गते रेग्मीको अन्तिम चलचित्र ‘मनले मनलाई छुन्छ’ रिलिज हुँदै छ।

तस्वीरमा हेर्नुहोस ‘आधी बाटो’को प्रेसमिटका केहि झलकहरु


SUBSCRIBE 👉