‘मिस नेपाल’को रिलिज रोक्ने हिडेन ट्रेजरको धम्की


miss-nepal-nepali-movieग्ल्यामर नेपाल, काठमाडौं । हिडेन ट्रेजरले शुभेच्छा थापा निर्मित फिल्म ‘मिस नेपाल’ चल्न नदिने धम्की दिएको छ। सिनेमा सेन्सर गर्ने अधिकार भएको एक मात्र सरकारी निकाय सेन्सर बोर्डले पास गरिसकेको फिल्मलाई एक गैह्रसरकारी संस्थाले रोक्ने धम्की दिएपछि चौतर्फी चर्चा सुरु भएको छ। हिडेन ट्रेजरले ‘मिस नेपाल’ नामक सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आइरहेको छ तर उक्त प्रतियोगिता आलोचनाको सिकार हुने गरेको छ।

प्रतियोगिताप्रति हेर्ने आमधारणा पनि गलत भइरहेको अवस्था सोही विषय माथि बनेको फिल्म रोक्न दादागिरी देखाएपछि हिडेन ट्रेजर थप विवादमा पर्ने देखिएको छ। निर्मात्री शुभेच्छाले जय नेपाल हलमा बिहीबार हुन लागेको ‘मिस नेपाल’ को च्यारेटी रोक्न हिडेनका प्रतिनिधिले धम्की दिएको जानकारी दिएकी छिन्। सिनेमा चलाउन नदिने भन्दै हिडेनका प्रतिनिधीहरु केही दिनयता लगातार जय नेपाल हल पुगिरहेका छन्। सोही क्रममा फिल्म युनिटका सदस्यहरु र हिडेनका प्रतिनिधिबीच भनाभन पनि परेको थियो।

निर्मात्री शुभेच्छाका अनुसार हिडेन ट्रेजरका अध्यक्ष गोपाल कक्षपती, स्वेता सिंह, पूनम घिमिरेलगाएतको टोलीले आफूहरुले हटाउनु भनेको दृश्य काटेर मात्र सिनेमा चलाउन आग्रह गरेका थिए। त्यसको लागि उनीहरुले च्यारिटी शो पहिले आफूहरुलाई देखाउन भनेका थिए तर शुभेच्छाले ‘च्यारिटीमै हेर्न आउनु। तपाईहरुलाई मात्र देखाउँदिन्’ भनेपनि हिडेन ट्रेजरका प्रतिनिधिहरु रिसाएका थिए। ‘फिल्मले आफूलाई अन्याय गरेको जस्तो लागेको भए अदालत गए भइहाल्यो नि,’ उनी प्रश्न गर्छिन्, ‘फिल्म चल्न नै दिन्न भन्नु त दादागिरी भएन् ?’

उसो त हिडेनले सिनेमाको सुटिङ सुरु भएदेखि नै विभिन्न माध्यमबाट धम्की दिएको शुभेच्छाको भनाई छ। ‘मिस नेपाल’ प्रतियोगिताको सकारात्मक कुरा मात्र देखाउनु पर्ने उनीहरुको भनाई छ। जुन लोकतान्त्रिक समाजको मुल्य र मान्यताको ठाडै अपमान हो। राज्यले नै रिलिजका लागि सिफारिस दिएको सिनेमा एउटा अमुक एनजिओले अंकुश लगाउन खोज्नु अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भन्दै चको विरोध गरेका छन्।
निर्मात्री शुभेच्छाले आज पनि हिडेन ट्रेजरका प्रतिनिधिसँग छलफल गर्ने बताइन्। उनले जय नेपालले नचलाएपनि अन्य हलमा च्यारिटी गर्ने जानकारी दिएकी छिन्।

SUBSCRIBE 👉