एनएफडीसी अवार्डमा आउँदै सञ्जीवनी


काठमाडौं । गोपीकृष्ण मुभिजसँगको सहकार्यमा नेपाल चलचित्र विकास संस्थान(एनएफडीसी)ले राजधानीमा आयोजना गर्न लागेको ‘तेस्रो एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार’मा सहभागी हुन चर्चित भारतीय गायिका सञ्जिवनी नेपाल आउने भएकी छन् ।

Sanjiwani Singerएनएफडिसीको निमन्त्रणालाई स्वीकार गर्दै बलिउडसँगै थुप्रै नेपाली फिल्ममा पाश्र्वगायन गरिसकेकी सञ्जिवनीले पुरस्कारमा सहभागीता जनाउन लागेकी हुन् । सन् १९९५ मा जीटिभीको ‘भ्वाइस् ट्यालेण्ट हण्ट शो सारेगम’मा सहभागी भएकी सञ्जिवनीले सोही शोमार्फत नै बलिउडमा डेव्यु गर्ने अवसर पाएकी थिइन । उक्त शोमा विजेता बनेकी सञ्जिवनिले सोही समय विधुबिनोद चोपडाको फिल्म ‘करीब’मा पाश्र्वगायनको अवसर पाएकी थिइन् ।

सन् १९९८ मा प्रदर्शन भएको यो फिल्मको ‘चोरी चोरी जब नजर मिले’ बोलको गीत नै सञ्जिवनीको पहिलो पाश्र्वगायन हो । बलिउडमा सञ्जिवनीका एक दर्जन फिल्मका करिव डेढ दर्जन गीत हिट छन् । उनले नेपाली फिल्म ‘मन मन्दिर’को ‘लौ है माया सुटुक्कै आउनु है’, फिल्म ‘नेपाली बाबु’को ‘यो साइनो मायाको टुट्दैन कहिल्यै’, फिल्म ‘पर्खि बसें’को ‘फुलमा बागमा’, फिल्म ‘मेरो जीवन साथी’को ‘सरसर बेग मारी’, फिल्म ‘राजनीति’को ‘ए हावा सुन तलाई’लगायतका गीतमा स्वर दिएकी छन् ।

सञ्जिवनीले हालसम्म ७ सय बढी स्टेज शोमा प्रस्तुति दिइसकेकी छिन । एनएफडिसीले भाद्र २६ गते आयोजना गरेको तेस्रो एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारमा अन्य विदेशी कलाकारहरुको समेत सहभागीता रहने जनाएको छ ।

SUBSCRIBE 👉